चिनियाँ ‘इकमर्स’ अलिबाबाले दराजको स्वामित्व लिएसँगै नेपाली बजारमा उसले आक्रामक रुपमा बजार विस्तार गर्ने लक्ष्य लिएको छ। उपभोक्ताले अनलाइनबाट सामान किन्न र बिक्रेताले बेच्न दराज वेबसाइट वा एपको प्रयोग गर्न सक्छन्। दराज आफैले कुनै सामान उत्पादन गर्दैन। यसले बिक्रेतालाई एकै ठाउँमा ल्याएर तिनका सामान क्रेतासम्म पुर्याउने काम गर्छ। नोभेम्बर ११ अर्थात कात्तिक २५ गते उसले ‘सेल डे’ आयोजना गर्दैछ। प्रस्तुत छ यिनै सम्वन्धमा दराजका एमडी राजिव अमात्यसँग गरिएको कुराकानीः
दराजमार्फत आपूर्तिकर्ता वा बिक्रीकर्ताबाट उपभोक्तासम्म सामान कसरी पुग्छ ?
दराजले किनमेलका लागि एउटा सिस्टम बसाल्ने हो। दराजमा बिक्रीकर्ताले आफ्ना सामानहरु राख्ने हो। ति सामान दराजमार्फत ग्राहकले लिने हो।
बिक्रीकर्तालाई हामीले लगिन आइडी प्रदान गरेका छौँ। सो आइडीबाट उहाँहरुले हामीसँगको कारोबार पनि हेर्न सक्नुहुन्छ भने आफ्ना जुनसुकै सामान विशेषतासहित दराजमा राख्नुहुन्छ।
कुन कुन सामानहरु अर्डरमा राखिएको छ भन्ने कुरा पनि बिक्रीकर्ताले देख्नुहुन्छ। अर्कोतर्फ ग्राहकले हाम्रो एप वा वेबसाइटमा गई सामान अर्डर गरेपछि हाम्रो ‘कस्टमर सर्भिस’मा आउँछ।
कस्टुमर सर्भिसबाट प्रमाणित भइसकेपछि सम्बद्ध बिक्रीकर्ताले आफ्नो पोर्टलमा देख्छ। उनीहरुले अर्डर देखिसकेपछि त्यो सामान तयारी अवस्थामा राख्छन्। अर्थात खोल्न नमिल्नेगरी प्याकिङ हुन्छ। प्याकिङको लागि हामीले नै उहाँहरुलाई व्याग वा सामान उपलव्ध गराएका छौँ।
त्यसपछि बिक्रीकर्ताले सामान तयार भएको हामीलाई सिस्टममार्फत जानकारी दिन्छन् वा सिस्टमको अर्को अप्सनमार्फत आफैले डेलिभरी पनि गर्न सक्छन्।
भोल्युम हेरिकन त्यो अप्सन राखिएको हुन्छ। हामीमार्फत जाने हो भने त्यो सामान हाम्रो गोदाम हाउसमा आउँछ र चेकिङ हुन्छ। ग्राहक नजिक भएको ठाउँको ‘हब’मा जान्छ। काठमाडौंमा नयाँ बानेश्वर, न्यूरोड, नयाँ बाटो, कुमारीपाटी लगायत ठाउँमा हाम्रा हबहरु छन्।
तिमार्फत वा डेलिभरीका लागि उपयुक्त कर्मचारी वा एजेन्टमार्फत ग्राहकले उपयुक्त समयमा सामान पाउनुहुन्छ। कुनै एक दिन ग्राहकले व्यस्ताताले सामान बुझ्न नपाउने अवस्था भएमा अर्को दिन बुझ्न सक्नुहुन्छ।
दराजमार्फत अर्डर गरेको कति दिनमा ग्राहकलाई सामान हात पर्छ ?
काठमाडौंको चक्रपथभित्र हामीले दुई तीन दिनमै सामान पुर्याउँछौँ। काठमाडौंबाहिर ५ दिन भनेका छौँ।
११ः ११ अर्थात कात्तिक २५ गतेको अर्डर भोल्युम एकदमै उच्च हुने भएकाले त्यस दिनको सम्पूर्ण अर्डर ८ दिनभित्रमा डेलिभरि गर्ने हाम्रो लक्ष्य छ। अरु बेलाभन्दा त्यो दिन ८० गुणा बढी अर्डर लिने लक्ष्य छ। त्यो भनेको १ लाख सामान बेच्ने लक्ष्य हो।
हामीले पोखरामा पनि चाँडै नै कार्यालय खोल्ने तयारी गरेका छौँ। त्यसपछि पोखराका ग्राहकले पनि चाँडो सामान पाउनुहुन्छ। काठमाडौंबाहेक मुख्य मुख्य शहरबाट आएको अर्डर पनि हामीले चाँडो पूर्ति गर्नेछौँ। पोखरासहित अन्य शहरहरुमा पनि कार्यालय विस्तार गर्दै जानेछौँ।
यदी सामान ग्राहकले पाइसकेपछि मन परेन वा नाप वा गुणस्तरमा चित्त बुझेन भने फिर्ता लिनुहुन्छ ?
सामान पाएको एक साताभित्र फिर्ताको लागि ग्राहकले सम्पर्क गर्नुपर्छ। सिस्टमबाट पनि सामान फिर्ताको जानकारी दिन सकिन्छ वा सिधै ‘कस्टमर सेन्टर’मा सम्पर्क गरी फिर्ताको लागि आग्रह गर्न सक्नुहुन्छ।
एउटा सामानको साटो अर्को सामान पनि उहाँहरुले लिन पाउनुहुन्छ। यदी नगद नै खोज्नुभयो भने पनि हामी दिन्छौँ। तर लिएको सामान बिगारेर वा फूटाएर फिर्ता हुँदैन। हामीले बिक्रीकर्तासँग पनि सामान बिग्रेको वा फूटेको भएमा साट्नेगरी सहमति गरेका छौँ।
कुनै महिना ५ प्रतिशत सामान रिटर्न भयो भने हामी अर्को महिना घटाउने गरी कार्य गर्छौँ। त्यसका लागि बिक्रीकर्तालाई चेतावनी दिने वा हटाउनेसम्मका काम पनि हुन सक्छन्। हामी ग्राहकलाई दोष दिनेतिर लाग्दैनौँ। उहाँहरुलाई सन्तुष्ट गराउने र धेरैभन्दा धेरैलाई आबद्ध गराउने हाम्रो लक्ष्य हो।
सपिङ अनलाइनबाट गर्ने भनियो। भुक्तानी पनि डिजिटल माध्यमबाट गर्नुपर्ने हो वा कसरी लिनुहुन्छ ?
हालका लागि ‘क्यास एण्ड डेलिभरी’ नै हो। सामान बुझेपछि ग्राहकले नगद नै दिनुपर्नेगरी व्यवस्था गरेका छौँ।
पछि ‘पेमेन्ट गेटवे’मा नविल बैंकसँग मिलेर भिसा वा मास्टरकार्ड ‘एसेप्ट’ हुनेगरी काम गरेका छौँ। हाम्रो सिस्टम सर्टिफाइड भएकाले कार्डको इन्फर्मेसन हामीले स्टोर गर्न पाउने भयौँ, नविल बैंकले स्टोर गरेजस्तै।
कार्डको दोस्रो वा त्यसपछिको प्रयोगमा सबै विवरण हाल्नु पर्दैन। छोटो विवरण हालेर भुक्तानी टुङ्गिन्छ। अन्य बैंकहरुसँग पनि मिलेर हामीले डिजिटल भुक्तानीको लागि काम गर्छौँ। यसरी हुने भुक्तानीमा डिस्काउन्ट समेत दिनेगरी अघि बढेका छौँ।
त्यस्तै अर्को तयारी भनेको कार्डबाट २ हजार रुपैयाँ दराजको एकाउन्टमा हाल्ने र त्यहीबाट पैसा काट्नेगरी भुक्तानी हुने व्यवस्था हो। यो सुविधा जनवरीतिर ल्याउने योजना छ। फिर्ता गर्दा पनि एकाउन्टमा सीधा फिर्ता गर्न सक्छौँ।
व्यवसायलाई ‘अनलाइन’ बनाइकन पनि तत्काल डिजिटल भुक्तानीमा जान नसक्नुका समस्याहरु के के देख्नुहुन्छ ?
अहिले पनि डेविट कार्डको प्रयोग एटिएमबाट नगद झिक्न मात्रै प्रयोग हुने गरेको छ। पछिल्लो समय रेष्टुरेन्टमा भएको खर्चमा यस्तो भुक्तानी बढ्न थालेको छ। प्रयोगको दायरा बढ्न सकेको छैन। इकमर्स फस्टाएपछि डिजिटल भुक्तानीका उपकरणहरुको प्रयोग पनि बढ्दै जान्छ। २०२० को मार्चसम्म ५० प्रतिशत भुक्तानी डिजिटलबाटै गर्ने हाम्रो योजना छ।
अलिबाबाका लागि त नेपाल एकदमै सानो बजार, त्यसमाथि इ–कमर्स अघि बढ्न नसकेको देश, दराज सफल होला ?
अलिबाबाले भारत, पाकिस्तानजत्तिकै हामीलाई पनि प्राथमिकता दिएको छ। नेपाल सानो देश वा थोरै जनसंख्या भए पनि यहाँको इकमर्सलाई दराजले नै डोर्याउँछ।
श्रीलंका हामीभन्दा धनी देश भए पनि दराज एपमा आवद्ध हुनेहरु त्यहाँ भन्दा यहाँ धेरै छन्। सानो देश भए पनि प्राविधिको प्रयोग यहाँ द्रुत गतिमा बढ्दो छ। हाम्रो योजना एक वा दुई वर्षका लागि होइन। यो त धेरै लामो अवधिको लागि हुने सबैभन्दा ठूलो इकमर्स हो। सफल नहुने भन्ने त प्रश्नै रहेन।
कतिपय कारोबारमा अझै पनि भ्याट बिल दिइने गरेको छैन। अब दराजमार्फत बेच्दा बिक्रीकर्ता भ्याटमा जानुपर्ने बाध्यता छ कि छैन ?बिक्रीकर्ताले बिल काट्ने हामीलाई होइन, ग्राहकलाई नै हो। भ्याटमा गएका बिक्रीकर्ताले भ्याटमा काट्ने भए, भ्याटमा नगएका प्यानमा काट्ने भए। दराजमा आवद्ध हुने बिक्रीकर्ता भ्याटमा दर्ता भएको हुनैपर्छ भन्ने छैन।
अहिले पनि एउटा कुनै मोबाइलको मूल्य भ्याट जोडिएरै तोकिएको हुन्छ। त्यसरी नै दराजमार्फत जाँदा पनि उनीहरुले भ्याट जोडेका हुन्छन्। प्यानमा दर्ता भएकाले पनि हामीमार्फत आफ्ना सामानहरु बेच्न सक्नुहुन्छ।
अनलाइनबाट अथवा दराजबाट सामान किन्दा ग्राहकलाई के के फाइदा दिन सक्नुहुन्छ ?
अनलाइनबाट सपिङ कहिल्लै नगरेकालाई यसमा ल्याउनुपर्ने चुनौतिचाहि अहिले छ। अहिले अनलाइनबाट जति ग्राहकले सामान किन्ने गर्नुभएको छ, उहाँले ‘दराज’को पनि प्रयोग गर्नेमा हामीलाई शंका छैन।
अहिले बजारमा नपाएका सामानहरु दराजमा पाइरहेको छ। जस्तो बजारमा नपाइएको पोकोफोन नेपालमा हामीले भारतकै मूल्यमा बेच्दैछौँ। सामान्यतः बजारमा फोनको मूल्य भारतमा भन्दा २/३ हजार महँगो पर्ने गरेको छ।
त्यसकारण कतिपय सामान बजारमा नपाइए पनि अब दराजमा पाइन्छ। किनकि यहाँ उद्योग वा प्रमुख आपूर्तिकर्ताले पनि सामान दिएको हुन्छ। अर्को कुरा बजारमाभन्दा यहाँबाट सामान किन्दा केही सस्तो हुने हाम्रो विश्वास छ। बढ्दो व्यस्तता छ, त्यसकारण पसल–पसल चाहार्न परेन, अनलाइनबाट सम्पूर्ण प्रकारका सामान हेरेर किन्न पाइने भयो।