तिहार लागेसँगै हाम्रा गाउँ, सहर दुलहीझैं श्रृंगारिन थालेका छन्। तिहारमा माटोको पाला(दीयो )ले घर श्रृंगार्ने चलन मैनबत्ती हुँदै पछिल्लो समय विद्युतीय बत्तीमा बढेको छ।
घरको शृङ्गारमा आधुनिक बत्तीको प्रयोग बढेसँगै पाला र मैनबत्तीको प्रचलन घट्दै गएको छ। यस्ता झिलिमिली बत्ती अहिले बिजुली पुगेको प्राय सबै गाउँठाउँमा प्रयोग हुने गरेको छ।
चीनले झिलिमिली बत्ति सस्तोमा बनाउन थालेपछि प्रयोग ह्वात्तै बढेको महाबौद्ध स्थित पञ्चकन्या माई ट्रेडरर्सका संचालक कृष्ण रेग्मीले बताए।
बजारमा धेरै थरिका यस्ता बत्ती किन्न पाइन्छ। तिनको मूल्य पनि फरक फरक छ।
‘बजारमा सामान धेरै भए मूल्य घट्छ थोरै भए, बढ्छ’, उनले भने ‘त्यस्तै तिहारको झिलिमिली बत्ती थोरै अवधिमा मात्र बिक्री हुने भएकोले समयले पनि यसको मूल्यमा फरक पार्छ।’
बजारमा पाइने बिभिन्न किसिमका झिलिमिली बत्तिको नाम र मूल्य यस्तो छ।
एलइडी लाईट
यो सबैभन्दा धेरै बिक्री हुने लाइट हो। यो १ सय लिड, २ सय लिड र ३ सय लिडमा उपलब्ध हुने गरेको रेग्मीले जानकारी दिए।
कुल तिहार बत्तीको ३५ प्रतिशत बिक्री हुने गरेको उनले जानकारी दिए। १ सय लिडको मूल्य १ सय ७५ रुपैयाँ, २ सय लिडको ३ सय ५० रुपैयाँ र ३ सय लिडको ६ सय ५० रुपैयाँ प्रतिपिस पर्ने गरेको छ।
दीयो लाइट
एलइडीपछि दोस्रो लोकप्रीय लाइट दीयो रहेको व्यापारीहरुको अनुभव छ। यो हेर्दा दीयो जस्तो देखिन्छ। यसको मूल्य १ सय ५० देखि २ सय ५० रुपैयाँ सम्म पर्छ।
पाइप लाइट
यो लाईट अरुभन्दा धेरै टिक्ने ब्यापारीहरुले जानकारी दिए। यसको मूल्य भने लम्बाई अनुसार ५ सय देखि १ हजार ५ सयसम्म पर्छ। निश्चित लम्बाईअनुसार एकएक पिसको प्याकेट बजारमा आउने गर्छ।
स्टेप लाइट
यो लाईट विषेशतः पसलहरुमा प्रयोग हुन्छ। यसलाई र्याक, भित्ता लगाएतमा टाँस्न सकिन्छ। यसको मूल्य पनि उपलव्ध हुने लम्बाई अनुसार ४ सय देखि १ हजार सम्म पर्छ।
फ्रुट लाइट
फ्रुट लाइटलाई फलफूलको डिजाइन दिइएको हुन्छ। बत्ती नबालेको समयमा पनि आकर्षक देखिन्छ। यसको मूल्य प्रतिप्याकेट १ सय २० देखि २ सय ५० रुपैयाँसम्म पर्छ।
नेट लाइट
नेट लाइट केही वर्ष अघिसम्म निकै लोकप्रिय भएपनि अहिले यसको लोकप्रियता घटेको छ। यसको मूल्य १०० चिम जडिटको १ सय ७५, १ सय ६० चिमजडितको २ सय ५० र ३ सय २० चिमजडित तारको ५ सय रुपैयाँ पर्छ।
ट्रि लाइट
ट्रि लाइट हेर्दा रुखको हाँगा जस्तै हुन्छ। बिजुलीमा जोडेपछि यसमा जडित बत्तिहरु बल्छन्। यो लाईट घरको ढोका, पूजाकोठा, टेबलमा राख्ने गरिन्छ। यसको मूल्य आकार अनुसार ५ सय देखि ८ सयसम्म पर्ने व्यापारीहरुले जानकारी दिए।
डिस्को लाइट
डिस्को लाईटको प्रचलन केही बर्ष अगाडि आउन थालेको हो। यसलाई पार्टी लाइट पनि भनिन्छ। यो लाईट उचाईमा राखिन्छ र यसले थरिथरि रङको उज्योलो दिने गर्दछ। डिस्को लाईट पनि धेरै प्रकारको हुन्छ। यो लाईट सस्तोमा ४ सयदेखि महँगोमा ४ हजारसम्म पर्ने ब्यापारीहरु बताउछन्।
लेजर लाइट
लेजर लाइटको लोकप्रीयता पनि बढ्दो क्रममा छ। यसलाई उचाईमा र भुईं दुबै ठाउँमा राखेर बाल्न सकिन्छ। यो लाइट उचाईमा राख्ने हो भने भुईंमा थरिथरिको प्रतिबिम्ब बनाउँछ।
त्यस्तै कसैले यसलाई भुईंमा राखेर घरको भित्तामा लाईट पर्ने गर्दछन्। यसले निकै टाढासम्म प्रकाश फ्याक्छ। लेजर लाईट एकै प्रकारको हुँदैन। फिचर्स अनुसार १ हजार देखि २ हजारसम्म पर्ने ब्यापारीहरुले जानकारी दिए।
लोटस लाइट
सामान्यतया लोटस लाईट सजावटको लागि प्रयोग गरिन्छ। यो घर भित्र टेबलमा, पूजा कोठा लगायतका ठाँउमा राख्ने गरिन्छ। यसको मूल्य डिजाइन अनुसार ३ सय देखि ६ सयसम्म पर्छ।