दशैँको समयमा पाँचथरमा पेट्रोलको अभाव भएको छ । दशैँ अगाडिनै आयात भएको पेट्रोल यसअघिनै सकिएको थियो ।
यसबाट आफन्तकोमा टीका लगाउन तथा ताप्लेजुङमा अवस्थित पूर्वको प्रसिद्ध पाथीभरा मन्दिरमा गएका दर्शनार्थी प्रत्यक्ष मारमा परेका छन् ।
झापाको विर्तामोडबाट पाथीभरा मन्दिर गएका अनिल तिवारीले भने, “मन्दिरको दर्शन गर्न भनेर हिँडियो तर आज बीच बाटोमै अलपत्र परियो, पम्पमा गयो, पेट्रोल छैन भन्छन् बाहिर गयो कतै पाइँदैन अब कसरी जाने हो, दोधारमा परियो ।”
उनीमात्र नभएर अन्य तीर्थयात्री समस्यामा परेका छन् । य
कृत्रिम अभाव सिर्जना गरेर बाहिर व्यापारीले खुलेआम बिक्री गर्दा पनि सम्बन्धित निकाय भने मौन रहेको स्थानीयको गुनासो छ । जिल्लामा रहेका तीनवटै पम्पमा पेट्रोल दुईदिन अघिनै सकिएको सदरमुकाम फिदिममा तेल वितरण गर्दै आएका इन्द्रायणी अटो मोबाइल्सका विक्रेता टोकनाथ तामाङले बताए।
“तेल लिन ट्याङ्कर नजाँदा दशैँको अन्त्यतिर अभाव भएको हो’ उनले भने।
पाँचथरमा पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएको छ ।
जिल्लामा पेट्रोल आयात गरेर बिक्री गर्न अझै दुईदेखि तीन दिनसम्म समय लाग्ने विक्रेताले बताएका छन् । जिल्लामा प्रतिदिन पाँच हजार लिटर हाराहारीमा पेट्रोल खपत हुने विक्रेता बताउँछन् ।