यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको सवारी जामलाई नियन्त्रण गर्न हाल सञ्चालनमा रहेका सार्वजनिक सवारी रूट परिमार्जन गर्ने तयारी गरेको छ।
अव्यवस्थित रूटका कारण जाम बढेको भन्दै विभागले आगामी पुसदेखि नयाँ रूट सञ्चालनमा ल्याउने भएको हो।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालित काठमाडौं दिगो सहरी यातायात परियोजनाले नयाँ रूट सिफारिस गरेको छ। तिनै नयाँ रुटमा यातायात सञ्चालन गराउने विभागले तयारी गरिरहेको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
२०६७ सालमा सुरु भएको उक्त परियोजनाले हालका रूटमा हेरफेर गर्ने सुझाव दिएको छ।
उक्त परियोजनाले हालका २ सय बढी रूटलाई मिसाएर ६६ रूटमा सिमित गर्न सुझाव दिएको छ। सोहीअनुसार विभागले आगामी पुसदेखि संचालनमा ल्याउने तयारी गरेको जनाएको छ। सबै ६६ रुटको यकिन भैसके पनि विभागले नयाँ रुट सार्वजनिक भने गरेको छैन।
पैदल यात्रु हिड्ने बाटो, ट्राफिक लाइटदेखि पुलसम्म बनाउनेगरी आएको उक्त परियोजनाकै सहयोगमा गोंगबुदेखि सिनामंगलसम्मको पाइलट रूट सञ्चालन भइसकेको छ।
परियोजनाले सिफारिस गरेका रूट तीन प्रकारका रहेका छन्। जसमा रूटअनुसार ठूला, मध्यम र साना सवारी गुड्नेछन्।
प्राथमिक रुटमा ठूला गाडीमात्र गुड्ने छन् भने अन्य दुई रुटमा मध्यम र साना सवारी चल्नेछन्।
पहिलो प्राथमिकतामा आठ वटा रूट रहेका छन्। धेरै यात्रुको चाप हुने यस्ता रूटमा ठूला गाडी मात्र गुड्नेछन्।
त्यस्तै दोस्रो प्राथमिकतामा १६ वटा रुट छन्। जसमा मिनिबस मात्र चल्नेछन्। यो रूटमा चलिरहेका माइक्रो बस र टेम्पोलाई तेस्रो प्राथमिकतामा सार्ने विभागको योजना रहेको छ।
त्यस्तै ४२ वटा तेस्रो प्राथमिकता प्राप्त रूट छन्। यसमा माइक्रो र साना सवारी मात्र चल्नेछन्।
यद्यपी नयाँ रूटमा जान यातायात व्यवसायीले आनाकानी गरिरहेका छन्। अघिल्लो वर्षदेखि नै सञ्चालन गर्ने तयारी गरेको विभाग व्यवसायीकै बिरोधका कारण पछि हट्दै आएको छ।