श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीमा सिनेमाहलसहितको आकर्षक सपिङ्ग मल ‘सेन्ट्रल प्लाजा’ संचालनमा ल्याएको छ।
१० तल्ले यस मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तर्राष्ट्रिय ब्रान्डका लुगाहरु राखिएको छ। चौथो तल्लामा फुड कोर्ट, गेमिङ्ग जोन र किड जोन रहनेछ।
‘सिनेफ्लिक्स मल्टिप्लेक्स’ यो भवनको पाँचौ तल्लामा रहेको छ। ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुई स्क्रिन छन्। २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमाहरु थ्रीडीमा हेर्न पाइने छ।
हलको फुल एयर कन्डिसन कोठाहरु र आरामदायी सीटहरुले फिल्म हेर्न आउने दर्शकलाई नौलो र रमाइलो अनुभव गराउने श्रेष्ठ इन्टरटेनमेन्टका डाइरेक्टर राजेश श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सिनेफ्लिक्समा दर्शकहरुको चाहना अनुसारका भेजिटेरियन र नन–भेजिटेरियन स्न्याक्स पाइने छ।
‘स्यान्डवीच, पपकर्न, नाचोस लगायत चिसो ड्रिङ्स उपलब्ध हुनेछ’ उनले भने। प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्टको नयाँ लगानीको होटल ‘भरन्डा’ खोलिने छ।
श्रेष्ठका अनुसार यो होटलमा ३६ आकर्षित कोठाहरु हुनेछन्। सबै कोठामा इटहरी शहरको दृश्य देख्न सकिने बरन्डाको व्यवस्था हुनेछ। पहिलो पटक ईटहरीमा यति सुविधायुक्त सपिङ्ग मल खुलेको श्रेष्ठको दावी छ।