दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज १२ गतेदेखि देशका विभिन्न भागमा सुपथ मूल्य पसल संचालन गर्ने भएको छ।
कात्तिक २७ गतेसम्म संचालन हुने यस्ता पसलमा दैनिक उपभोग्य बस्तु सस्तो पर्ने र सर्वसाधारणलाई राहत पुग्ने सरकारको दावी छ।
खाद्य संस्थान तथा नेसनल ट्रेडिङ, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका उत्पादन तथा व्यवसायिक उपभोग्य बस्तुहरु सहुलियत पसलमार्फत बिक्री हुनेछ।
साल्ट ट्रेडिङले नुन तथा चिनीको काठमाडौंमा ९ स्टल तथा बाहिर २४ स्थानबाट र घुम्ती सेवामार्फत बिक्री वितरण गर्नेछ।
दुग्ध विकास संस्थानले घ्यू, पनिर लगायत दुग्धजन्य पदार्थ लैनचौर, बसन्तपुर र खुमलटार तथा काठमाडौंबाहिर हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगन्ज, कोहलपुर, धनगढी लगायत गरी १२ स्थानबाट बिक्री गर्नेछ।
तिबाहेक सहकारी पसलहरुहरुले सहुलियत पसलको नाममा सम्वन्धित संस्थानहरुबाट उपलव्ध गराएकै वा सोभन्दा कम मूल्यमा उपभोग्य सामान बिक्री गर्नेछन्।
कुन खाद्यान्नमा कति छुट ?
सहुलियत पसलमा दाल, चामल उद्योग तथा बिक्रेताले ३ प्रतिशत छुटमा दिनेछन्। त्यस्तै तेल र घ्यु उद्योगले बजार मूल्यभन्दा प्रतिलिटर ३ रुपैयाँ छुट दिनेछन्। आयातित तेलमा प्रति ५ लिटरमा १५० रुपैयाँ छुट हुनेछ।
चिनी उद्योगले प्रतिकेजी ५७ मा चिनी उपलव्ध गराउने छन्। सहकारीहरुले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट हुने बताइएको छ।
छुटपछि के मा कति मूल्य पर्छ ?
सोना मन्सुली चामल प्रतिकेजी ४५ बाट ५ रुपैयाँ छुट हुँदा ४० रुपैयाँ पर्नेछ।
जिरा मसिनो चामल प्रतिकेजी ६० बाट ५ छुट भई प्रतिकेजी ५५, बास्मति चामल प्रतिकेजी ९१ बाट ८१ रुपैयाँ, गोरखनाथ चामल ४८ बाट ३८, जापनीज चामल ८० रुपैयाँ ७५ पैसाबाट ७५ रुपैयाँ ७५ पैसा पर्न जानेछ।
जुम्ली सिमी १३० बाट १२०, तिते फापर ८० बाट ७० पर्ने बताइएको छ। खसीबोका पछि निर्धारण हुने मूल्यबाट प्रतिकेजी १० रुपैयाँ छुट पर्ने बताइएको छ। सरकारले खसीबोकाको मूल्य निर्धारण गरिसकेको छैन।
त्यस्तै नुन प्रतिकेजी २० बाट २ रुपैयाँ छुट भई १८ रुपैयाँ, घ्यू प्रतिलिटर ९ सयबाट ८५० रुपैयाँ, पनिर ६२० बाट प्रतिकेजी ६१० रुपैयाँमा घटाएर किन्न पाइनेछ।