पूर्व गभर्नर डा. तिलक रावलले राज्यले करलाई मात्रै प्राथमिकता दिँदा लगानीकर्ता आकर्षित हुन नसक्ने बताएका छन्। ‘वर्तमान अवस्थामा जस्तो जतासुकै कर मात्रै लगाउन खोज्ने हो भने लगानी गर्न कोही आउँदैन’ यूनिग्लोब कलेजको एक कार्यक्रममा बोल्दै उनले भने।
त्यस्तै पुँजी बजार सम्वन्धमा उच्च पदमा बस्नेले नकारात्मक टिप्पणी गर्न नहुनेमा उनले जोड दिए। लगानी गर्नका लागि प्रोत्साहन गर्नुपर्नेमा पुँजी बजार पिँधमा छ भनेर टिप्पणी गर्दा त्यसले अन्तर्राष्ट्रिय जगतमै राम्रो सन्देश नदिने रावलको भनाइ छ।
‘लगानी गर्न चाहनेहरुले यहाँको पुँजी बजारको स्थिति पनि हेर्ने गर्छन्, उच्च पदमा बसेकाले नै नकारात्मक टिप्पणी गर्दा राम्रो सन्देश जाँदैन’ उनले भने।
यसैबीच कलेजले बिजनेस इन्क्युवेशन सेन्टर, कम्युनिकेसन ल्याब तथा फाइनान्स ल्याब संचालनमा ल्याएको छ। सेन्टर तथा ल्याबको नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले उद्घाटन गरे।
सो अवसरमा कलेजका प्रिन्सिपल तथा प्रवन्ध निर्देशक डा. नरबहादुर बिष्टले विद्यार्थीको छुट्टै पहिचान बनाउन तथा उनीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्न ल्याबको महत्व रहने बताए।