कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन्।
समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा पदार्थको अभावमा खजुरामा रहेका अत्याधुनिक मेशिन प्रयोगविहीन रहेको कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए।
बाँके, बर्दिया, दाङलगायतका क्षेत्रमा उत्पादित कपासलाई खजुरामा प्रशोधन गर्न सरकारले २०४४ सालमा ती मेशिन खरीद गरेको थियो । ३१ वर्षअघि रु एक करोड मूल्य परेका ती मेशिन कपासकै अभावमा प्रयोगमा आउन नसक्दा जीर्ण भइसकेको जोशी बताउछन।
दश बिगाहा जमीनमा फैलिएको कपास विकास समितिमा अहिले पनि प्रशोधनशाला र आधुनिक गोदाम रहेको छ तर कच्चा पदार्थको अभावमा प्रशोधनशाला सदुपयोग हुन सकेको छैन भने गोदाममा बिक्री हुन नसकेको २१३ मेट्रिक टन कपास थन्काइएको छ ।
दुई वर्षदेखि निमित्तको भर
कपास विकास समिति दुई वर्षदेखि कार्यकारी प्रमुखसहित पाँच जनाको दरबन्दी खाली रहेको छ । दुई वर्षयता समिति निमित्तको भरमा चलिरहेको छ । समितिमा अहिले पनि प्रमुख कार्यकारी, नायब कार्यकारी प्रमुख, दुई जना अधिकृत र एक जना कार्यालय सहयोगीको पद खाली रहेको निमित्त प्रमुख जोशीले जानकारी दिए।