बिक्रेताहरुलाई भेला गर्दै दराजले आक्रामक रुपमा व्यवसाय विस्तार गर्ने उद्घोष गरेको छ।
उसले सेप्टेम्बर २९ देखि नयाँ एपमार्फत दराजमा साढे ६ सय बिक्रेतालाई सहभागी गराउने भएको छ। आधुनिक शैलीमा व्यवसाय गर्ने र सहज रुपमा ग्राहकलाई चाँडो सेवा दिने उद्देश्यले बिक्रेतालाई एपमा सहभागी गराइन लागेको दराजले जनाएको छ।
दराज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बीआरके मिकल्सनले बिक्रेताहरुको क्षमता अभिवृद्धि गर्दै व्यवसाय बिस्तार गर्नका लागि नयाँ रणनिति अख्तियार गरिने उद्घोष गरे। विक्रेताहरुका लागि तीन तहको रणनीति उनले सार्वजनिक गरे।
उनका अनुसार पहिलो तहमा वस्तु तथा सेवा बिक्री गर्न बिक्रेतालाई विशेष अधिकार तथा तालिम प्रदान हुनेछ। दोस्रो तहमा बिक्रेताहरुलाई रणनीति अनुसार अघि बढ्नका लागि आवश्यक उपकरणको व्यवस्था दराजले गर्ने छ।
यसबाट दराजको सेवा सुधार गर्दै धेरैभन्दा धेरै सेवाग्राहीलाई आबद्ध गराउने उसको योजना छ। तेस्रो तहमा व्यवसायलाई लोकप्रिय बनाउनका लागि व्यवसायिक प्रकृयालाई चुस्त बनाउने योजनामा बिक्रेताहरुलाई समेटिनेछ।
प्रमुख कार्यकारी मिकल्सनले बिक्रेताको अधिक लगावका कारण व्यवसाय बिस्तारमा सफलता मिल्ने दावी गरे। व्यवसायका क्रममा ग्राहकको सुरक्षा तथा सेवामा कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो।
यसैबीच नबिल बैंकले दराजसँग रकम भुक्तानीका लागि सहकार्य गर्ने भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दराजको भेलालाई सम्बोधन गर्दै वस्तु तथा सेवाको कारोबारमा बैंकले भुक्तानीका लागि सहकार्य गर्ने बताए।
साथै उनले दराजका बिक्रेताहरुलाई नबिल बैंकले साना तथा मझौला व्यवसाय कर्जा उपलब्ध गराउने बताए। आगामी नोभेम्बर ११ मा दराजले नेपालमै पहिलो पटक अधिक छुट तथा अफरहरु सहित ११: ११ सेल सञ्चालन गर्दैछ।
सन् २०१२ मा स्थापना भएको पाकिस्तानको दराज नेपालसहित पाकिस्तान, बंगलादेश, श्रीलंका, म्यानमारलगायतका देशमा यो अनलाइन सपिङ साइटको रुपमा संचालन भइरहेको छ।