हेटौडाको मयुरधापमा बन्न लागेको ‘मयुरधाप औद्योगिक क्षेत्र’को डिपीआरको काम सम्पन्न भएको छ।
नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारी निर्णयसँगै अहिले सो स्थानमा ४९ करोडको लागतमा डिपीआरको काम सम्पन्न भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ।
उक्त औद्योगिक क्षेत्रको डिपीआरको काम सम्पन्न भई वन मन्त्रलयको वातावरण शाखाबाट वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको व्यवस्थापनका महाप्रबन्धक नन्दकिशोर वस्नेतले बताए।
उनका अनुसार असोज मसान्तसम्म सो औद्योगिक क्षेत्रको आधिकारिक रूपमा कार्यालय खडा हुने छ। ‘वातावरण शाखाबाट इआइएको प्रतिवेदन पास भएपछि औद्योगिक क्षेत्र वरीपरी काँडेतार लगाउने, जग्गा सम्याउने, विजुली राख्ने लगायतको प्रारम्भिक कार्य अगाडि बढ्ने छ’ उनले भने ।
२०७७ सम्ममा सो औद्योगिक क्षेत्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको वस्नेतले बताए। सो औद्योगिक क्षेत्रमा उत्पादन मूलक उद्योगलाई बढी प्राथमिकता दिने उनको भनाइ छ। ठूला उद्योगका लागि ६२ वटा प्लट छुट्याइएको छ ।
उक्त औद्योगिक क्षेत्र सञ्चालनमा आए पश्चात प्रत्येक्ष रुपमा ७ हजारले रोजगार पाउने अनुमान गरिएको छ।
हेटौंडा उपमहानगर १४ मा रहेको एक सय ३५ हेक्टर क्षेत्रफलमा सरकारले उक्त औद्योगिक क्षेत्र बनाउन लागेको हो। औद्योगिक क्षेत्रका लागि ऐलानी जग्गाको भोगाधिकार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एक वर्ष अघि नै पाइसकेको छ।
सो औद्योगिक क्षेत्र हेटौंडा बजारबाट ७ किलोमिटर टाढा छ भने हेटौंडा पथलैथा सडकको पशुपतिनगरबाट झन्डै ३ किमि पश्चिममा छ। उक्त क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने भएपछि मयुरधाप, बदेँलधाप, कालोपानी, पदमपोखरीको रातोमाटे डाँडाका स्थानीय खुसी भएका छन्।
अहिले सो स्थानमा जग्गाको भाउ समेत महँगो हुँदै आएको छ। हेटौंडामा २०२० सालमा स्थापना भएको अर्को औद्योगिक क्षेत्र पनि छ। अमेरिकी सरकारको सहयोगमा त्यसबेला हेटौंडा औद्योगिक क्षेत्र स्थापना भएको हो।