सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समितिको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्त गरेसँगै महाप्रबन्धक सुगतरत्न कंसाकारको निगममा नेतृत्वदायी भूमिका सकिएको छ।
अब कार्यकारी अध्यक्ष खरेलले निगम व्यवस्थापन र सञ्चालनको नेतृत्व सम्हाल्ने छन्।
दुई व्यक्ति एउटै संस्थाको कार्यकारी पदमा रहेको अवस्थामा महाप्रबन्धक कंसाकारले के गर्छन् भन्ने चासो छ। कंसाकारले भने अवको बाँकी कार्यकाल संचालक समितिको सदस्यको हैसियतमै निगममा बस्ने, राजीनामा भने नदिने बताएका छन्।
उनले आफूले वाइडबडी जहाज ल्याएको र त्यसको व्यवस्थापनको काम बाँकी नै रहेको अवस्थामा राजीनामा दिएर हिँड्दा राम्रो सन्देश नजाने निष्कर्षमा आफू पुगेको सेतोपाटीलाई बताए।
‘सरकारले मलाई यत्रो जहाज खरिद प्रक्रियापछि आराम गर भनेको हो, राजीनामा दिएर जा भनेको होइन’ उनले भने,‘चैतमा मेरो कार्यकाल सकिन्छ त्यतिञ्जेलसम्म बोर्ड सदस्यको हैसियतमै बस्छु।’
नेपाल वायुसेवा निगम ऐनमा कार्यकारी अध्यक्ष र महाप्रबन्धकका दुबै पद एकैपटक सक्रिय रहने व्यवस्था छैन।
आइतबार राति ट्वीट गर्दै कंसाकारले लेखेका छन्- निगमको व्यवस्थापनमा चाखलाग्दो 'ट्विस्ट' आएको छ। पूर्वमहाप्रबन्धक मदन खरेललाई मन्त्रिपरिषदले कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। तर मैले राजीनामा नदिने निर्णय गरेको छु, अब म कार्यकारी अधिकारीबिनाको सिइओका रूपमा रहनेछु। मलाई थाहा छ, धेरैले अचम्म मान्नेछन्।