नेपाल एयरलाइन्सको नयाँ जहाज ग्राउन्डेड(उडान तथा अवतरण गर्न नमिल्ने) भएको छ। जहाजको बडीमा समस्या देखिएपछि ग्राउन्डेड भएको एयरलाइन्स उच्च स्रोतले जानकारी दिएको छ।
साउन १० गते काठमाडौं आइपुगेको एयरलाइन्सको नयाँ एयरबस ३३० जहाज ग्राउन्डेड हुँदा नियमित उडान प्रभावित भएका छन्।
गएको भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको यो जहाजको सामान राख्ने तथा निकाल्ने ढोका कुच्चिएकाले ग्राउन्डेड भएको एयरलाइन्सका एक अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
कुच्चिएको कहाँ भन्ने अहिलेसमेत ठम्याउन नसकेको एयरलाइन्स व्यवस्थापनले उक्त अवस्थामा जहाज उडान मिल्छ कि मिल्दैन भने एकिन गर्न सकेको छैन। अन्यौलका बीच व्यवस्थापनले एयरबसलाई त्यसको जानकारी गराएको छ।
एयरबसले प्रतिउत्तर दिएपछि मर्मत तथा उडान बारे निर्णय लिने व्यवस्थापनको तयारी रहेको एक अधिकारीले जानकारी दिए।
नेपाली कल साइन ‘नाइन एन–एएलजेट’ दिइएको उक्त जहाजको नाम मकालु राखिएको छ। २७४ सिटका यी जहाज लामो दुरीमा उडान गर्ने भन्दै ल्याइएपनि रुट नपाउँदा छोटो दुरीमा उडाउँदै आएको छ।
यी जहाजबाट अहिले मलेसिया र दुबई बाहेका अन्य गन्तव्यमा एयरलाइन्सले उडान गर्र्दै आएका छ।