नेपाल एयरलाइन्सले एयरवसका २ न्यारोबडी जहाज ल्याएर दक्षिण एसियाली मुलुकमा उडान विस्तार गर्ने योजना ल्याएको छ।
अन्तर्राष्ट्रिय उडानमा एयरबसका ए३२० सिरिजका २ जहाज ल्याएर पाकिस्तान, माल्दिभ्स, म्यानमार र श्रीलंका काठमाडौंबाट सिधा उडान गर्ने व्यावसायिक योजना बनाएको छ।
बोर्डबाट पारित भइसकेको योजनाअनुसार जहाज ल्याएर नजिकका छिमेकी मुलुकमा उडान गर्ने लक्ष्य लिइएको एयरलाइन्सका प्रबन्धक निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।
ती देशका व्यवसायी र राजदूतले निरन्तर आग्रह गरिरहेको भए पनि जहाज नभएर उडान गर्न नसकिएको उनले बताए। अब जहाज थप भएपछि सातामा २ वटासम्म उडान गर्न सकिए सजिलै चल्ने उनको विश्वास छ।
अहिले अन्तर्राष्ट्रिय उडानमा ए ३२० दुइटा, ए ३३० दुइटा र एउटा बोइङ ७५७ जहाज छन्। यसमा बोइङ बिक्री गर्ने निष्कर्षमा एयरलाइन्स पुगिसकेको छ।
अहिले एयरलाइन्सले भारतका तीन सहर, थाइल्यान्ड, हङकङ, कतार, मलेसिया, सयुक्त अरब इमिरेट्समा उडान गरिरहेको छ।