नेपाली बजारमा पाइने विदेशी ब्रान्डका महँगा कपडा भन्सारबाट भने अर्कै नामबाट आउने गरेको पाइएको छ।
नेपाली बजारमा महँगा ट्यागमा पाइने त्यस्ता कपडाहरु भन्सारमा भने बच्चबच्चीले लगाउने सामान्य कपडा घोषणा गरेर ल्याउने गरेको पाइएको छ।
रसुवागढी भन्सारबाट एडिडास ब्रान्डका ओरिजिनल टिसर्ट ल्याएर भन्सारमा बच्चाका इलास्टिक कट्टु र भेष्ट भनी राजश्व छलेको पाइएपछि राजस्व अनुसन्धान विभागले गाडी नियन्त्रणमा लिएको छ।
विभागका महानिर्देशक दिर्घराज मैनालीले वास्तविक घोषित मूल्यमा १०, १२ र २२ अमेरिकी डलर हुनुपर्ने त्यस्ता सामान न्यून मूल्यमा देखाएर पास गरिएको पाइएको बताए। त्यसरी जाँचपासमा संलग्नलाई पनि छानविनको घेरामा तानिएको उनले जानकारी दिए।
पहिले अर्थ मन्त्रालय मातहत रहेको विभाग प्रधानमन्त्री कार्यालय मातहातमा आएपछि भएका कामको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मैनालीले उपभोक्ता र राज्यलाई ठगी गर्ने कसैलाई पनि नछाड्ने बताए।
फागुन १४ गतेपछि विभागले राजश्व छलीका २ सय बढी मुद्दा अनुसन्धान गरिरहेको र केही अदालतमा दायर गरेको छ।
विभागले एउटै कम्पनीले ५४ करोड आयकर छली गरेको आरोपमा हिमालयन कार्गो र त्यसका संचालक विरुद्ध २ अर्ब विगो र जरिवाना दावी गर्दै अदालतमा मुद्दा दायर गरेको छ।
२०६५ देखि साना करदाताको रुपमा दर्ता भएर वर्षमा ५ हजार मात्र कर तिरेको र २०७३ पछि कुनै पनि कर नतिरेको, ठूलो कारोबार भएको भेटिएपछि हिमालयनका संचालक विनोदकुमार गुप्ता र कुमारी गुप्ताको विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको मैनालीले जानकारी दिए।
त्यस्तै दूध र घ्यूनको नक्कली प्रज्ञापन पत्र बनाई राजश्व छलीको आरोपमा विभागले २२ जना विरुद्ध १० करोड विगो तथा जरिवाना दावी गर्दै मुद्दा दायर गरेको छ। एउटा गाडीको छानविनको क्रममा सुरु भएको यो छानविनबाट ७ जना भैरहवा भन्सारका कर्मचारी पनि अभियुक्त परेका छन्। यस्तो कारोबारमा १५० बढी गाडीहरु संलग्न रहेको सूचना पाइएको र त्यसविरुद्ध अनुसन्धान जारी रहेको उनले बताए।
विभागले मरिच तस्करीको आरोपमा ४ जना विरुद्ध मुद्दा दायर गरेको छ। तेस्रो मुलकबाट आएको मरिच भारत निर्यात गर्दा छालाको नाम दिएर भन्सारबाट पास गर्ने क्रममा पक्राउ गरी चार जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
यो बीचमा कूल विभिन्न व्यक्ति विरुद्ध ५ मुद्दा दायर गरेको विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ।