युवालाई बढ्दो विदेश पलायनबाट रोक्न र व्यवसायी बनाउन दाङमा यूनिक मार्केट संचालन गरिएको छ।
घोराही उपमहानगरपालिका वडा नं १५ तुलसीपुर चोकमा ९ जना युवाले करिव एक करोड ५० लाखको लागतमा ४३ सटर निर्माण गरी मार्केट भवन स्थापना गरेका हुन्। कोशिस फाउन्डेसनले युवाहरुलाई ऋण उपलब्ध गराएको छ।
न्यून पूँजी भएका युवाहरुलाई स्थानीय संस्थाहरुबाट कर्जा उपलव्ध गराई उनीहरुलाई व्यवसायी बनाउन प्रयास गरिएको युनिक मार्केट संचालन समितिका अध्यक्ष शालिकराम खनालले जानकारी दिए।
रिद्धिसिद्धि मोवाइल पसलका संचालक सचेत कुमार शर्माले वित्तीय संस्थाको सहयोगबाट आफुले संस्थाको रोहवरमा कर्जा लिएर ब्यापार थालेको बताए।
कर्जा ब्यवस्थापन गरेर युवालाई व्यवसायी बनाउन मार्केट संचालन हुन थालेको थाहा पाएर आफू भारतबाट घर आएर व्यवसाय सुरु गरेको शर्माले जानकारी दिए। त्यस्तै क्रिस्टल गिफ्ट पसल सञ्चालन गर्दै आएका अर्का ध्रुवराज पौडेलले युवालाई स्वरोजगार बनाउने मार्केटको उद्देश्यलाई बुझेर आफूले पनि कर्जा लिएर पसल सुरु गरेको बताए।
यसअघि दाङको गढवामा हार्डवेयर पसल संचालन गर्दै आएका कोमल पाण्डेले त्यहाँ भन्दा घोराहीकै मार्केटमा व्यापार राम्रो हुने ठानेर यूनिक मार्केटमा आएको जानकारी दिए।
मार्केटमा सिसी क्यामरा जडान गरिएको हुँदा व्यापारीक सुरक्षा राम्रो रहेको पाण्डेले बताए। ‘सवारी साधन पार्किङको सुविधा, वाइफाइको समेत व्यवस्था गरिएको छ त्यसले व्यवसाय गर्नेहरु पनि उत्साहित छन्’ समितिका अध्यक्ष खनालले भने।
संस्थाले १५ बर्षसम्मको भाडाको सहमति गरेर युवाहरुलाई पसल संचालन गर्न दिएको हुँदा त्यति बेला सम्म उनीहरु नयाँ व्यवसायीका रुपमा स्थापित हुने खनालले दाबी गरे।
अन्यन्त्र एकल घरबेटी हुँदा अस्वभाविक रुपले घरभाडा बढाउने र लामो समयको भाडा सहमति गर्न नमान्ने जस्ता समस्या यूनिक मार्केटका व्यवसायीलाई नरहेको खनालले बताए।
एउटै छानोमुनि सबै प्रकारका सामान पाइने र किनमेल गर्नका लागि आउँदा प्रयोग गरिएको सवारी साधान राख्ने प्रशस्त पार्किङको ब्यवस्था गरिएको उनले बताए।
जिल्लामा पछिल्लो समयमा सुपर मार्केटहरु खुल्ने क्रम वढ्दै गएको छ। जिल्लाको तुल्सीपुर र घोराहीमा गरी झन्डै एक दर्जनको हाराहारीमा सुपर मार्केट निर्माण गर्न लागिएको छ।