निजी क्षेत्रको वायुसेवा प्रदायक सौर्य एयरलाइन्स बिक्री भएको छ। स्थापना भएको चार वर्षमै एयरलाइन्सको अहिलेको व्यवस्थापन बिक्री गर्ने निष्कर्षमा पुगेको हो। सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलका अनुसार एयरलाइन्स बिक्री सम्बन्धि हस्ताक्षर भइसकेको र रकम भुक्तानी हुनमात्र बाँकी रहेको छ।
जेट इन्जिन भएका जहाजबाट आन्तरिक हवाई सेवा सुरु गरेको एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा थियो। अपेक्षित बजार लिन नसकेपछि सञ्चालन नोक्सानी बढ्दै जाँदा बैंकको व्याज, कर्मचारीलाई तलब र इन्धनको बक्यौता नै धेरै हुन थालेपछि उडान कटौति गर्दै आएको थियो।
चीनमा व्यापार व्यवसाय गर्दै आएको श्याम अधिकारीको नेतृत्वमा खरिद भए पनि त्यसमा नेपाली पनि साझेदार रहेका छन्।
सौर्य एयरलाइन्सको ऋण धेरै भएको र नयाँ व्यवस्थापनले त्यसमा ६१ करोड मात्र सकार गर्ने बताएको छ। एयरलाइन्स सञ्चालन गर्दा व्यवस्थापन टिममा पनि नयाँ हुने बताइएको छ।
यद्यपी पुरानो टिमको पनि केही सेयर स्वामित्व हुने पोखरेलले जानकारी दिए।
‘बिक्री सम्बन्धि सम्झौतामा हामीले हस्ताक्षर गरेका छौं सोमबारमात्र भुक्तानी दिने सहमति भएको छ यसमा हाम्रो पुरानो टिमको पनि केही सेयर भने कायम हुने छ तर बहुमत स्वामित्व नयाँ टिमको हुने छ’, पोखरेलले भने।
क्यानेडियन जहाज निर्माता कम्पनी बम्बार्डियरले बनाएका सिआरजे–२०० जहाजबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगंज र धनगढीमा नियमित उडान गरिरहेको सौर्यले पछिल्लो समय एउटा मात्र जहाजबाट उडान गरिरहेको थियो।
एयरलाइन्सले दैनिक सात उडान गर्न पाउने गरी अनुमति पाएको छ।
लामो समयदेखि जहाजमा प्राविधिक समस्या आएपछि एउटा मात्र जहाजबाट उडान गरिरहेको एयरलाइन्सले पछिल्लो समय उडान रोकेको छ।
२०७१ मंसिरबाट चार्टर उडान सुरु गरेको एयरलाइन्सले २०७४ बाट नियमित उडान सुरु गरेको थियो। यात्रु हिस्साको हिसाबले राम्रै प्रदर्शन गरिहेको भए पनि एयरलाइन्स पछिल्लो समय आर्थिक संकटमा पर्दै गएको छ।