कतार एयरवेजले यस वर्षको स्काइट्रेक्स वर्ल्ड एयरलाइन अवार्ड्समा चार प्रतिष्ठित पुरस्कार हात पारेको छ।
यस अघि नै विभिन्न पुरस्कारहरु जित्न सफल भएको एयरवेज, लण्डनको ल्याङह्याम होटलमा आयोजित यस वर्षको समारोहमा पुनः ‘सर्वोत्कृष्ट बिजनेस क्लास’ अवार्डद्वारा सम्मानित भएको हो।
योसँगै एयरवेजले कुल छैटौँ पटक तथा लगातार तेस्रो वर्ष यो अवार्ड जित्न सफल भएको छ। हमाद अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सञ्चालन अधिकृत इन्जिनियर बदर मोहम्मद अल मीरसँगै समारोहमा पुरस्कार ग्रहण गर्न कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरको उस्थिति थियो।
साथै एयरवेजले लगातार पाँचौ पटक ‘सर्वश्रेष्ठ एयरलाइनः मध्य पूर्वी एसिया’ अवार्ड प्राप्त गरेको छ। लगातार दोस्रो पटक ‘सर्वोत्कृष्ट फस्र्ट क्लास एयरलाइन लाउन्ज’ तथा हालसालै सुरुवात भएको बिजनेस क्लास सेवा क्यूसुइटको लागि ‘सर्वोत्कृष्ट बिजनेस क्लास सिट’को उपाधि कतार एयरवेजले पाएको छ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत बकेरले यी उपाधीले छोटो अवधिमै कम्पनी अगाडि पुगेको पुष्टि हुने बताए। यात्रुहरुलाई सर्वश्रेष्ठ सेवा प्रदान गर्न आफूहरु सधै प्रतिबद्ध रहेको बताउँदै उनले क्यूसुइटको सुरुवातसँगै हवाई सेवाको क्षेत्रमा बिजेस क्लासको नयाँ स्तर तय भएको बताए।
यसै वर्ष कतार एयरवेजले बेलायतमा आफ्नो स्थान मजबुत बनाउने क्रममा लण्डन ग्याट्विक एवं कार्डिफ विमानस्थलसम्मको सेवा सुरु गरेको हो।आगामी वर्ष यस एयरलाइनले टेलिन, एस्टोनिया; भ्याल्लेट्टा, माल्टा; सेबु र डभाओ, फिलिपिन्स; लाङ्कावी, मलेसिया; र डा नाङ, भियतनाम जस्ता गन्तव्यहरू थप्ने घोषणा गरेको छ।