साउनभर नारीले हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरापोते, मेहन्दी लगाउने चलनले यतिबेला झापामा ति सृङ्गारका सामानको व्यापार बढेको छ।
साउनका लागि भनेर त्यस्ता सामान किन्नेको झिलझिले बजारमा सोमबार भीड देखियो। चुरापसलमा नारीको भरिभराउ देखिन्थ्यो। शिवसताक्षी ११ की सिता दाहालले साउन महिनामा राता र हरिया चुरा, मेहन्दीसहित रातै वस्त्रमा व्रत बस्ने भएकाले ति सामान किन्न बजार आएको बताइन्।
दाहालका अनुसार विवाहित वा अविवाहित सबै हरियो रंगका पहिरन तथा चुरापोतेमा सजिन्छन्। विशेषगरी साउने सोमबार ब्रत बस्ने दिन भएकाले यिनै वस्त्रमा नारीहरु सजिने गरेका छन्।
साउनमा पनि दसैँ तीज एवं विवाहमा जस्तै राम्रो व्यापार हुुन थालेकोमा चुरा पसले बृन्दा पोखरेल दंग छिन्। झिलझिलेकी व्यापारी पोख्रेलका अनुसार विगत ७ वर्षयता साउनमा दसैँ, तीज तथा विवाहको लगनमा जत्तिकै चुराको व्यापार हुन्छ।
साउन आउन एक हप्ताअघिबाटै हरिया चुराहरू बिक्री हुने उनले बताइन्। उनका अनुसार हरिया चुराका साथै पहेँलो, रातो, रानी तथा सुन्तला रंगका चुराहरू पनि यतिबेला धेरै बिक्री हुने गरेको छ।
केही वर्षअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले पोतेका डिजाइन र माला बनाई लगाउने चलन चलेको छ।