उद्योग वाणिज्य महासंघले सम्पूर्ण उद्योगी तथा व्यापारीहरुलाई आफ्नो व्यवसाय पारदर्शी र स्वच्छ बनाउन आह्वान गरेको छ।
महासंघले आफ्ना सबै व्यवसायिक सदस्य संघ/संस्था मार्फत मुलुकभर क्रियाशील व्यापारीहरूलाई स्वच्छ र यथार्थ मूल्यमा बील बिजक जारी गरेर मात्र व्यापार व्यवसाय संचालन गर्न आव्हान गरेको हो।
डर, त्रास र भयमुक्त भई स्वच्छ व्यापारका लागि बिना दर्ता, वा बील बिजक जारी नगरी, मूल्यअनुसारको परिमाण नदिनेगरी हुने बस्तु तथा सेवाको कारोवार गर्ने/गराउने व्यवसायीलाई सबै तह र तप्काले बहिष्कार गर्ने महासंघले जनाएको छ। साथै तिनको परिचय समेत सार्वजनिक हुने महासंघको भनाइ छ।
आम उपभोक्तालाई आफूले खरिद गरेको बस्तु र सेवाको यथार्थ परिमाण र भुक्तानी मूल्यको बिलबिजक लिएर मात्र कारोवार गर्न महासंघले आग्रह गरेको छ। होलसेल तथा खुद्रा व्यापारीहरुलाई पनि बिलबिजक दिएर मात्रै कारोबार गर्न उसले भनेको छ।
सरकारबाट समय समयमा बजार अनुगमन हुनुपर्नेमा महासंघले जोड दिएको छ। सामानमा उत्पादन तथा उपभोग्य मिति उल्लेख भए/नभएको एकीन गरी खरिद विक्री गर्न, उपभोग्य मिति गुज्रेको वस्तु विक्रीवितरण नगर्न, कानुनले तोकेको अत्यावश्यक बस्तुहरुको सिमाभित्र रहेर मूल्य र नाफा लिन, सबैले देख्ने गरी अत्यावश्यक बस्तुहरूको मूल्य सूची राख्न महासंघले सबैलाई आग्रह गरेको छ।
असार १५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा गठित समितिले समग्र अनुगमनका विषयमा विस्तृत सुझाव दिई सोको कार्यान्वयनका लागि पहल गरिरहेको महासंघले जनाएको छ।