उचित मूल्यमा स्तरीय होटल सेवा प्रदान गर्दै आएको ओयोले होटल बुकिङ र भुक्तानीको लागि इसेवासँग सहकार्य गरेको छ। योसँगै इसेवाका ग्राहकले आफ्नो मोबाईलबाट सहजै होटलको बुकिङ गर्न सक्ने छन्।
सम्झौतापत्रमा इसेवाका पे्रसिडेन्ट अस्गर अली र ओयाका भाइस प्रेसिडेन्ट प्रसुन चौधरीले हस्ताक्षर गरे। सो क्रममा इसेवाका प्रेसिडेन्ट अलीले ओयो र इसेवाको सहकार्यले नेपालको पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने बताए।
अब ओयो मार्फत तत्काल काठमाडाँै र पोखराका ३५ बढि होटलका ६ सय वटा रूम इसेवामार्फत बुकिङ गर्न सकिन्छ। ओयोले ६ महिनाभित्रै १ सय ५० होटलका ३ हजार भन्दा बढि कोठा आफ्नो नेटवर्कमा ल्याउने लक्ष्य राखेको छ।
ओयो र इसेवाको संयुक्त कारोबार सञ्चालन गरेको पहिलो चरणमा काठमाडौंका होटेलहरुमा ७ प्रतिशत र पोखराका होटेलहरुमा १५ प्रतिशत “क्यास व्याक” को सुविधा दिइएको छ।
इसेवा नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी हो। नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन्। सन् २००९ बाट कारोबार सुरू गरेको इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब ३५ हजारभन्दा बढी एजेन्ट (इसेवाजोन तथा पोइन्ट) छन्।
ओयोले २०१७ मे २४ तारिख देखि नेपालमा आफ्नो सेवा प्रारम्भ गरेको थियो। छोटो अवधिमा काठमाडौं र पोखरामा गरी ३५ वटाभन्दा बढी होटलसँग सहकार्य गरेको छ। सन् २०१३ मा आफ्नो सेवा प्रारम्भ गरेको ओयोले भारत, चीन, मलेसिया साथै नेपालमा पनि सेवा दिँदै आएको छ।