मयूर यातायात प्रालिमा एनआरएनका निवर्तमान अध्यक्ष शेष घलेले लगानी गर्ने भएका छन्। यसको लागि प्रक्रिया चलिरहेको मयूर यातायातका अध्यक्ष मोहन बहादुर श्रेष्ठले जानकारी दिए।
‘उहाँमात्र नभएर एनआरएनका अन्य साथीहरू पनि लगानी गर्न इच्छुक हुनुहुन्छ। १० जना शेयर होल्डरबाट सुरूवात भएको मयूर यातायातमा अहिले ३५ जनाको शेयर छ’ उनले भने ‘हाम्रो शेयर होल्डर मध्ये ९–१० जना जति विदेशमा बस्ने नेपाली हुनुहुन्छ।’
सयजना सेयर होल्डर पुगेपछि आइपिओमा गएर सर्वसाधारणको लागि पनि शेयर जारी गर्ने श्रेष्ठले जानकारी दिए।
‘पब्लिक मयूर यातायातमा लगानी गर्न निकै इच्छुक हुनुहुन्छ, त्यसकारण हामीले आइपिओ खोल्नको लागि विज्ञ टोली गठन समेत गरिसकेका छौं’ उनले भने।
सहरको लागि विद्युतीय सवारी मात्र
मयूर यातायातले सहरी क्षेत्रमा विद्युतीय सवारी मात्र ल्याउने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
‘हामी १९ गतेतिर विद्युतीय गाडी हेर्न भारत जाँदै छौं, त्यहाँबाट फर्के लगत्तै चीन गएर चिनियाँ कम्पनीको गाडीको मूल्य बुझ्छौं’ उनले भने ‘जहाँको सस्तो र राम्रो हुन्छ त्यही कम्पनीको ल्याउँछौं’।
एउटा विद्युतीय गाडीको डेढ करोडदेखि साढे २ करोडसम्म पर्ने श्रेष्ठले जानकारी दिए।
‘हामीले काठमाडौंको लागि ४० वटा विद्युतीय गाडी ल्यायौं भने करिब १ अर्बको हाराहारीमा खर्च हुन्छ,’उनले भने।
योसँगै आफूहरूले विद्युतीय ट्याक्सी समेत ल्याउने तयारी गरिरहेको श्रेष्ठले जानकारी दिए।
हाल मयूर यातायातका २४ वटा गाडी चलिरहेका छन् भने सोमबारबाट २० वटा नयाँ गाडी थपिँदै छ।
नेपालको प्रत्येक सडकमा मयूर यातायात पुर्याउने लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए।
‘मयूर यातायातलाई नेपालको मात्र नभइ दक्षिण एसियाकै नमूना यातायात बनाउने हाम्रो लक्ष्य हो। हामी देशको कुना काप्चामा सेवा विस्तार गर्छौं’ उनले भने।