नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँदिल्ली उडान गर्न बुद्ध एयरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुमति माग गरेको छ। बुद्ध एयरले आजै मन्त्रालयमा अनुमति माग गर्दै आवेदन दिएको छ।
बुद्ध एयरका अध्यक्ष विरेन्द्रबहादुर बस्नेतले मन्त्री रविन्द्र अधिकारीसमक्ष निवेदन बुझाएका हुन्। पत्रमा बुध्द एयरले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एटिआर ७२ जहाजबाट दैनिक तीन ( विहान ६ः३० दिउसो १ र बेलुका ५ः१० बजे) उडान गर्ने उल्लेख गरिएको छ।
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानस्थल प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुध्द एयरले जनाएको छ ।
मन्त्री अधिकारीले बुध्द एयरको घोषणाबाट आफू सकारात्मक रहेको र त्यसै अनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय घोषणालगायत आवश्यक पूर्वाधारहरु इमिग्रेसन, कस्टम यथाशिघ्र बनाउने आश्वासन दिएका छन्।
आजै संसदमा बोल्दै मन्त्री अधिकारीले अवको ३ महिनाभित्र नेपालगंजमा आवस्यक पूर्वाधार निर्माण गरी ४ महिनाभित्र उडान गरिसक्ने जानकारी दिए।
नेपालगञ्जबाट सिधा नयाँदिल्ली हवाई उडान सञ्चालनमा आउँदा मध्यपश्चिम एवं सुदुरपश्चिमको आर्थिक सम्वृद्धिमा कायापलट गर्न कोशेढुंगा साबित हुने बुद्ध एयरका अध्यक्ष विरेन्द्रबहादुर बस्नेतको विश्वास छ।
यो हवाईमार्ग सञ्चालनमा आउन सके यसले नेपालको मध्यपश्चिम र सुदुरपश्चिममा बसोबास गर्ने नेपालीहरुलाई नेपालगञ्जमार्फत सिधै नयाँदिल्लीसँग जोड्नेछ ।
नेपालगञ्ज–नयाँदिल्ली–नेपालगञ्ज अन्तर–सिमा उडान यथाशिघ्र सञ्चालन गर्न प्रतिवद्ध रहेको साथै यस लगत्तै दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्ने एयरलाइन्सले जानकारी दिएको छ।
नेपालगन्जबाट नयाादिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरको छ।