राजधानीको भृकुटीमण्डपमा जारी घरजग्गा मेलामा रियल स्टेट कम्पनीहरुले विभिन्न अफरसहित घर तथा फ्ल्याट बिक्रीमा राखेका छन्।
सिभिल होम्सले धापाखेलस्थित अपार्टमेन्टमा न्यूनतम ३७ लाख रुपैयाँदेखिका फ्ल्याट बुकिङ खुला गरेको छ। लिभिङ, डाइनिङ र बेडरूम गरी तीन कोठाको फ्ल्याट विशेषतः विद्यार्थी तथा सानो परिवार हुनेलाई लक्ष्य गरिएको सेल्स तथा मार्केटिङ म्यानेजर रमेश थापा मगरले जानकारी दिए।
यो अपार्टमेन्ट १ सय ४५ रोपनी जग्गामा फैलिएको छ। स्विमिङ पुल, क्लब हाउस, डिपार्टमेन्ट स्टोर लगायत सुविधा छन्। यहाँ ३७ लाखको फ्ल्याट अफर मेला अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ। मेलापछि शुल्क केही बढ्न सक्ने उनले बताए।
त्यही अपार्टमेन्टमा दुई बेडरूमसहितको फ्ल्याटको मूल्य ७० देखि ७५ लाखसम्म छ। यहाँ १ करोडसम्म पर्ने फ्ल्याट पनि छ। फ्ल्याटको क्षेत्रफल र फेसिङका आधारमा मूल्य तय हुने उनले जानकारी दिए।
अपार्टमेन्ट बुकिङ गर्न अहिले ५ लाख र एक महिनाभित्र ३१ प्रतिशत रकम भुक्तान गरेर कानुनी सम्झौता गर्नुपर्नेछ।
कम्पनीले १८ देखि २० महिनामा फ्ल्याट तयार पारेर दिने जनाएको छ। मेलामा अहिलेसम्म ३७ लाखको फ्ल्याट ११–१२ वटा बुकिङ भएको मगरले दाबी गरे। यसमा सुरक्षा, बिजुली, मर्मतसम्भार लगायतका लागि सुरूमै २ देखि ३ लाख उठाइनेछ।
त्यस्तै, बालकुमारीस्थित वेस्टार रेसिडेन्सीमा ९५ लाख (२ बेडरुम) देखि २ करोड ५५ लाख (४ बेडरूम) सम्मका फ्याट छन्। रिङरोडबाट २ सय मिटरभित्र पर्ने यो अपार्टमेन्टमा प्रतिवर्गफुट १० हजार ५ सय रुपैयाँका आधारमा फ्ल्याटको मूल्य तय गरिएको छ। १५ रोपनी जग्गामा फैलिएको यो अपार्टमेन्टमा ७० प्रतिशत खुला ठाउँ रहेको सेल्स म्यानेजर चाँदनी सिंहले जानकारी दिइन्।
यहाँ पनि मर्मतसम्भार, सुरक्षा लगायतका लागि एकपटकमा १ सय ७५ रुपैयाँ प्रतिवर्गफुट तिर्नुपर्छ।
अपार्टमेन्टमा स्विमिङ पुल, जिम हल, फिल्म हल, स्टिमबाथ, सौना, कम्युनिटी हल, टेरिस गार्डेन, बाल उद्यान, जगिङ ट्रयाक, पुल साइड क्याफे, लगायत सुविधा छन्।
धापाखेलको डाउनटाउन अपार्टमेन्टमा सबैभन्दा सस्तो ५ सय ८५ वर्गफुटको अपार्टमेन्ट ५८ लाख पर्छ। यो एक बेडरुमको फ्ल्याट हो। एक्स्पो अवधिभर ‘फुल्ली फर्निसिङ’ र ५ प्रतिशत छुट हुने कम्पनीले जनाएको छ।
त्यस्तै, दुई बेडरूम फ्ल्याटको ९६ लाख पर्ने तीन बेडरुमको १ करोड २० लाख पर्ने कम्पनीले जनाएको छ। यहाँ स्विमिङ पुल, जगिङ ट्रयाक, मन्दिर, सोसाइटी हल लगायत सुविधा छन्।
बुढानिलकण्ठको रोडशो रियल स्टेटमा फ्ल्याटको मूल्य प्रतिवर्गफुट १४ हजार पर्छ। ‘फुल्ली फर्निस्ड’ एक बेडरूम फ्ल्याट ५ सय ५० वर्गफुटको छ भने दुई बेडरुमको फ्ल्याट ८ सय ५० वर्गफुटको छ।
यहाँ स्विमिङ पुल, पार्क, जिमहल, पार्टी प्यालेस लगायत सुविधा छन्।
मेलामा विभिन्न घरका डिजाइन, जग्गाको योजना तथा विकास, निर्माण सामग्री, इन्जिनियरिङ कन्सल्टेन्ट, विद्युतीय सामग्री लगायतका स्टल छन्। घरजग्गा मूल्य, निर्माणको सही तरिका, सही सामग्रीको छनौट र बैंकिङ सेवा लगायतबारे निशुल्क परामर्श लिन पाइन्छ।