भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा दुई हप्ताभित्र उद्योग निर्माणको काम सुरु हुने भएको छ।
अनुमति पाएका २६ वटा उद्योगहरुले काम सुरु नगरेपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले दुई हप्ताभित्र काम सुरु नभए अनुमति खारेज समेत हुन सक्ने चेतावनी दिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले अनुमति पाएका सबै उद्योगहरुलाई एक हप्ता भित्र उद्योग दर्ता र २ हप्ता भित्रबाट उद्योग निर्माणको काम सुरु गरिसक्ने गरी अनुमति दिइएको बताए। राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने ‘दिइएको समयभन्दा धेरै अवधि लगाउने छुट उद्योगहरुलाई छैन, ‘हामीले धेरै समय कुर्यौँ, अब कुर्ने अवस्थामा छैनौँ।’
सेजमा उद्योगहरुलाई काम थाल्नका लागि कुनै ठूला समस्या नरहेको उनले दावी गरे। उद्योगहरुले विजुलीको समस्या रहेको बताउँदै काम नथालेका बेला भट्टले विद्युतको सबस्टेसन निर्माणका लागि टेन्डर अन्तिम चरणमा पुगेको बताए।
प्राधिकरणका कार्यकारी निर्देशक भट्टले एक वर्षभित्र उद्योगहरुबाट उत्पादन सुरु हुने गरी कामलाई अघि बढाउने बताए।
भैरहवा विशेष आर्थिक क्षेत्रका लागि आगामी आर्थिक वर्षमा ८ अर्ब रुपैयाँ बजेटको व्यवस्था गरिएको छ। सरकारले भैरहवा विशेष आर्थिक क्षेत्रबाट तत्कालका लागि ५ हजार २ सय रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएको छ।
कार्यक्रममा बोल्दै उद्योगी, व्यवसायीहरुले भने भैरहवा विशेष आर्थिक क्षेत्रमा फूड र प्लाष्टिक उद्योग स्थापना गर्न सरकारलाई सुझाव दिएका छन्। अन्य ठूला उद्योग स्थापनाका लागि ठाउँको समेत अभाव हुने भएकाले सो क्षेत्रमा फुड र प्लाष्टिकको उद्योग स्थापनाका लागि उपयुक्त हुने नेपाल उद्योग परिसंघका अध्यक्ष डा. हरिभक्त शर्माले सुझाव दिए।
उनले ठूला उद्योगका लागि औद्योगिक क्षेत्र स्थापनाको कामलाई बढावा दिन पनि सरकारको ध्यानाकर्षण गराए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले उद्योग स्थापनाका लागि पूर्वाधारको विकासमा विशेष जोड दिन आग्रह गरे। उनले उद्योग स्थापनाका लागि अब विद्युतको अभाव नहुने विश्वास व्यक्त गरे।
पूर्वाधारको अभावमा नेपालको उद्योग, व्यवसाय फष्टाउन नसकेको उनको भनाइ छ।