एनसेलको नेटवर्कमा झण्डै ९२ लाख ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेको पाइएको छ।
यो संख्या एनसेलको कुल ग्राहक संख्याको ५६ प्रतिशत रहेको मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको २०१८ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनमा उल्लेख छ।
एनसेलको कुल ग्राहक संख्या एक करोड ६४ लाख छ। यस हिसाबले कुल ग्राहकमध्य झन्डै ९२ लाखले स्मार्टफोनको प्रयोग गर्ने गरेका छन्। गत वर्ष सोही अबधिको तुलनामा एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ताको संख्या ५६ प्रतिशत पुगेको हो।
सन् २०१७ को पहिलो त्रैमासिक अवधिमा एनसेलका ४४ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्ने गरेका थिए।
आजियाटाको लगानी रहेको दक्षिण एसियाका अन्य कम्पनीहरु बंगलादेशको रोबी र श्रीलंकाको डायलगकै तुलनामा पनि एनसेलमा धेरै स्मार्टफोन प्रगोगकर्ता छन्। सन् २०१८ को पहिलो त्रैमासिक सम्ममा रोबीका ४० र डायलगका ५३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन्।
विगत एक वर्षकै अवधिमा एनसेलले प्रविधि तटस्थता अन्र्तगत थ्रिजी इन्टरनेटको व्यापक विस्तार गरेको र फोरजी सेवा पनि काठमाडांै उपत्यकाका तीन शहर सहित २१ शहरहरुमा विस्तार गरेको लगायतका कारणहरुले गर्दा एनसेलको नेटवर्कमा स्मार्टफोन प्रयोगगर्नेहरु बढेको बताइएको छ।
एनसेलले थ्रिजी सेवा ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याई सकेको दावी गरेको छ। फोरजी १५ प्रतिशत भन्दा बढी जनसंख्यामा पुगेको बताएको छ।
कम्पनीका झण्डै ४६ प्रतिशत ग्राहकले डाटा सेवा लिएको वित्तिय प्रतिवेदनमा उल्लेख छ । बढ्दो इन्टरनेट प्रगोगका कारण एनसेलको कुल आयमा डाटाबाट हुने योगदानमा पनि गएको एक वर्षमा ५ प्रतिशतले वृद्धि भएको छ।
सन् २०१७ को पहिलो त्रैमासिकमा कुल आम्दानीमा डाटाको योगदान १७ प्रतिशत थियो भने हाल यो बढेर २२ प्रतिशत पुगेको छ। सन् २०१८ को पहिलो त्रैमासिकमा एनसेलले कुल १४ अर्ब २६ करोड आम्दानी गरेको छ । यो आय गत वर्ष सोही अवधिको (१३ अर्ब ६७ करोड) तुलनामा ४.३१ प्रतिशतको बढी हो।