विदेशबाट नेपालमा लगानी गर्न आउनेहरुको आकर्षण सेवा क्षेत्रमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको नेपालमा विदेशी लगानी सम्बन्धिको अध्ययनले सेवा क्षेत्रमा दुई तिहाई बढी लगानी रहेको देखाएको छ।
नेपालमा कूल २५२ वटा फर्ममा १ खर्ब ५२ अर्ब विदेशी लगानी रहेको र त्यसको ७० प्रतिशत सेवा क्षेत्रमा गएको अध्ययनले देखाएको छ।
सेवा क्षेत्रभित्र पनि लगानीकर्ताको आकर्षण यातायात, भण्डारण, संचारमा देखिएको छ। ४७ प्रतिशत लगानी यस्तो क्षेत्रमा रहेको पाइएको छ।
त्यस्तै उद्योग क्षेत्रमा विदेशी लगानीको २९ प्रतिशत गएको छ भने कृषि क्षेत्रमा ०.३ प्रतिशतमात्र रहेको छ। कृषिका कतिपय क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध गरिएकाले पनि यसमा लगानी नआएको हो।
उद्योगमा उत्पादनमुलक उद्योग, विजुली, ग्यास र पानीमा धेरै विदेशी लगानी रहेको छ। कूल विदेशी लगानीमा २९ ठुला, ४० मध्यम र १८३ वटा साना फर्म रहेका छन्।
नेपालमा ३९ देशका विदेशी लगानीकर्ताले लगानी गरिरहेका छन्। जसमा भारतीय चुक्ता पुँजीका आधारमा भारतीय सबैभन्दा धेरै छन्। भने कूल लगानीका हिसाबले वेष्ट इन्डिजका लगानीकर्ताको लगानी धेरै रहेको छ। अध्ययन अनुसार वेष्ट इन्डिजका लगानीर्काले नेपालमा ६२ अर्ब लगानी गरेका छन्। त्यस्तै भारतीयले २७, चीनका १०, सिंगापुर ७, आयरल्यान्डका लगानीकर्ताले ५ अर्ब लगानी गरेका छन्। वेष्ट इन्डिजको सबै लगानी सेवा क्षेत्रमा रहेको छ।
विदेशी लगानीका कम्पनीले ८७ प्रतिशत नेपाली र १३ प्रतिशत विदेशी कामदार राख्ने गरेको पाइएको छ।
विदेशी लगानीका कम्पनीमध्ये १३ उद्योगले मात्र निर्यात गर्छन्। जसमा ३ वटाले उपभोग्य उत्पादन निर्यात गर्छन् भने बाँकी ८ ले अन्य औद्योगिक उत्पादन निर्यात गर्छन्।
विदेशी लगानीको उद्योगले ६६ प्रतिशतभन्दा बढी कच्चा पदार्थ विदेशबाटै ल्याउने गरेका छन्।