स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका व्यवसायीहरुलाई एउटै थलोमा भेला गराउने उद्देश्यले बिहीबार र शुक्रबार काठमाडौंमा नेपाल ट्रेड समिट हुने भएको छ।
सम्बद्ध व्यवसायीहरुबीच अन्तरक्र्रिया गर्ने उद्देश्यले होटल सोल्टीमा समिटको आयोजना हुन लागेको हो। समिटमा नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल, सिमेन्ट उद्योगीहरु र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहने छ।
कार्यक्रममा ३ सयभन्दा बढी प्रतिनिधिहरु रहने छन्। बिहीबार साँझ प्राबिधिक सत्र, शुक्रबार बिहान साढे ८ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक स्टिलमिन्ट इभेन्टस् इन्डियाले जनाएको छ।
उद्योगीहरु प्रदिप कुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरि भक्त शर्मा, लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी तथा भारतीय तथा अन्य देशका प्रतिनिधीहरुले कार्यपत्र पेश गर्ने बताइएको छ।
कार्यक्रममा नेपाल र छिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे छलफल हुनेछ। त्यस्तै विभिन्न मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्था बारे छलफल हुने छ।