पश्चिम नेपालको प्रवेशद्धार बाँकेको कोहलपुरमा रहेको होटल सेन्टर प्लाजा पूर्ण रूपमा सञ्चालनमा आएको छ। २२ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा ८० वटा कोठा छन्।
नौ वर्षअघि बाँकेको कोहलपुरमा ५ करोड रुपैयाँको लगानीमा होटल व्यवसाय थालेको होटल सेन्टर प्लाजा प्रालिले कोहलपुरकै मदनचोक नजिकै ५५ करोड लगानीमा अर्को चारतारे होटेल ‘सेन्टर प्लाजा निर्माण गरेको हो।
निर्माण सुरु भएको २५ महिनामा आंशिक सञ्चालनमा रहेको होटेल सेन्टर प्लाजाले यही वैशाख २५ गतेबाट पूर्ण रूपमा ८० कोठा, स्विमिङ पुल, जिम स्पा, वार, रेष्टुरेन्ट, कन्फ्रेन्स र वेन्कुईटका सुविधासहित पूर्ण रूपमा सञ्चालनमा आएको हो।
हिन्दुहरूको पवित्र तिर्थस्थल मानसरोवर जाने एक मात्र मार्ग हिल्सा हो। हिल्सा जान नेपालगन्ज प्रवेशद्धार हो। पश्चिम नेपाल आउन आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर पाँचतारे मापदण्डको होटल सञ्चालन गरेको प्रबन्ध निर्देशक देवानन्द अर्यालले सेतोपाटीलाई बताए। ‘केही महिनाअघि आंशिक सञ्चालनमा ल्याएको होटल हामीले वैशाख २५ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याएका हौ।’
सबै कोठा, रेष्टुरेन्ट, कन्फ्रेनन्स हलमा उत्तिकै हावा र उज्यालो होस् भनेर होटलको भवन अक्टागनल डिजाईन अर्थात अष्टकोण शैलीमा बनाईएको अर्यालले बताए।
अक्टागनल शैलीमा बनेका होटलका भवनहरू नेपालमा बिरलै पाईन्छ। सिपमा चढेको महशुस हुने किसिमको क्रुजबार पनि होटलको अर्को विशेषता भएको अर्यालले जानकारी दिए।
अपाङ्ग मैत्री होटलले स्थल तथा हवाई मार्ग हुँदै पश्चिमका विभिन्न ठाउँहरुमा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा–सुविधा दिने प्रबन्ध निर्देशकअर्यालले बताए।
होटलमा ३२ सय स्क्वयार फिटको स्विमिङ पुल, दुई वटा बार, चार वटा सेमिनार हल र एक वटा ब्याङ्क्वेट हल छन्।
होटलमा स्वीट र डिलक्स गरी ८० वटा रुम छन् प्रिसिडेन्सियल स्वीट रुमको १८० डलर, एक्जिक्युटिभ स्वीट रुमको १२० डलर, जनरल स्वीट रुमको ९० डलर तथा सिंगल डिलक्स रुमको ५५ डल र ट्वीन डिलक्स रुमको ६५ डलर दर राखिएको छ।
आन्तरिक पर्यटकको लागि विषेश सहुलियतको योजनासमेत गरेको उनले जानकारी गराए। जसमा खाना र कोठाका लागि भारी छुट राखिएको बताए। ‘कोहलपुरमा आउने सबै खालका पाहुनालाई उपयुक्त हुने रूमहरू हामीले राखेका छौं। रूम लिएका ग्राहकले ब्रेक फास्टसहित होटलभित्र उपलब्ध अन्य सुविधाहरु प्राप्त गर्न छुट्टै खर्च गर्नु पर्दैन,’ उनले भने।
पश्चिम नेपालकै पहिलो पटक Central VRF System Air Condition जसमा 410 A को Green GAS CENTRATVRF प्रयोग गरिएको छ।
यसमा भएको ग्यासले वातावरण तथा स्वास्थमा कुनै खालको प्रतिकुल असर नगर्ने अर्यालको दाबी छ।
पश्चिम नेपालको केन्द्र विन्दु कोहलपुरमा ग्राहक सुविधाको लागि होटेल सेन्ट्रल प्लाजाले २४ सैं घण्टा होटल तथा रेष्टुरेण्टको सुविधाका साथै पश्चिम नेपाल घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई आवश्यक सूचनासहित सेवा दिने एक मात्र होटल भएको अर्यालको दाबी छ।
होटलले कोहलपुरलाई केन्दबिन्दु मानेर आसपासका २० किलोमिटर वरीपरी आफ्ना ग्राहकलाई निःशुल्क वातानुकुलित अत्याधुनिक बस सञ्चालन समेत गरेको छ।
होटलमा आउने ग्राहकलाई एयरपोर्टबाट पिकअप/ड्रपको सेवा समेत रहेको उनले बताए। उनले स्थानीयलाई रोजगारीमा विशेष ग्राहयता दिएको बताए। ‘होटलमा८० प्रतिशत स्थानीयलाई तालिम दिएर रोजगारी दिएका छौ। जसमध्ये ६५ प्रतिशत महिला छन्,’ उनले भने।