नेपाल आयल निगमले निर्वाचनको मुखमा गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुने भएको छ।
प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन आपूर्ति मन्त्री जयन्त चन्दलाई निर्देशन दिएपछि मन्त्री चन्दले आयल निगमलाई पत्र पठाइसकेका छन्। मन्त्रीको निर्देशनपछि बिहिबार बिहानै आयल निगमको आकस्मिक बैठकबाट मूल्यवृद्धि फिर्ता हुने भएको छ।
नियमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा बुधबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता हुने भएको छ।
निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो। एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो । मन्त्रीको निर्देशनपछि अब पुरानै मूल्य कायम गरिने भएको छ।
आफ्नो पार्टीले सम्हालेको मन्त्रालयले जनतालाई कुनै पनि मर्का पर्न नदिने भन्दै राप्रपाका नेता मोहन श्रेष्ठले सेतोपाटीसँग भने,‘ अब राप्रपाले जनतालाई मर्का पर्ने गरी कुनै पनि निर्णय गर्नेछैन,’ उनले भने,‘ पार्टी र मन्त्रीको नीति विपरित भएको मूल्यवृद्धि फिर्ता हुन्छ।’
यसैबीच मूल्यवृद्धि फिर्ता लिने प्रधानमन्त्रीको निर्देशनप्रति निगमले भने असन्तुष्टि जनाएको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा मूल्य समायोजना गरिँदै आएको हुनाले यसलाई फिर्ता लिने मन्त्रीको निर्देशन नाजायज भएको नियम स्रोतले सेतोपाटीलाई बतायो।