नेपाल इन्भेष्टमेन्ट बैंकले १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
बैंकको साधारणसभाले असार मसान्तसम्म कायम शेयर पूँजीको १५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
बैंकको चुक्ता पूँजी रु. १० अर्ब ६२ करोड( पारित बोनस रु.१ अर्ब ३८ करोड सहित) पुगेको छ जुन नेपालका निजी बैंकहरुमध्ये सबैभन्दा बढी हो । त्यसै गरी बैंकको सञ्चिति रकम पनि बढेर रु ८ अर्ब ८ करोड पुगेको छ भने शेयरधनी कोष रु. १८ अर्ब ७० करोड पुगेको छ । यस बैंकको शेयरधनी कोष पनि निजी क्षेत्रका बैंकहरुमध्ये कै सबैभन्दा उच्च रहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आ.व. २०७३–७४ मा रू. ५ अर्ब २४ करोडको सञ्चालन मुनाफा कमाएको छ जुन अघिल्लो आ.व.२०७२–७३ भन्दा २६.७ प्रतिशतले बढी हो ।
त्यसै गरी खुदनाफा २२.१ प्रतिशतले बढेर रू.३ अर्ब ११ करोड पुगेको छ । बैंकको निक्षेप १५.७ प्रतिशतले बढेर रू. १ खर्ब २५ अर्ब पुगेको छ भने कर्जा लगानी २२.६ प्रतिशतले बढेर रू.१ खर्ब ६ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) रेसियो गत वर्षको ०.६८ प्रतिशतभन्दा बढेर ०.८३ प्रतिशत पुगेपनि आउँदा बर्षमा घटाएर अझ न्यूनतम् स्तरमा लैजाने बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रलाई थप सक्षम तथा एकिकृत गर्नको निम्ति नेपाल राष्ट्र बैंकले लिएको मर्जर वा प्राप्तिको नितिलाई आत्मसाथ गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. ले एस डेभलपमेन्ट बैंक लि.लाई प्राप्ती गरी मिति २०७४ आषाढ २९ गतेबाट एकिकृत कारोबार सुरु गरेको छ ।
एस प्राप्तिपश्चात् बैंकको काठमाण्डौं उपत्यका भित्र २३ तथा उपत्यका बाहिर ३८ गरी जम्मा ६१ वटा शाखा कार्यालय, ३ वटा एक्सटेन्सन काउन्टर तथा ९९ वटा एटिएम पुगेको बैकले जनाएको छ।
यस वर्षदेखि बैंकले ग्राहकवर्गको सुविधा हेतु नेपाल विद्युत प्राधिकरणको विद्युत महसुल संकलन कार्यको लागि सम्झौता गरी मासिक विद्युत महसुल बैंकबाटै भुक्तानी गर्न सबै शाखा तथा इ–बैंकिङमार्फत सेवा सुरुवात गरेको छ ।
साथै बैंकले सर्वसाधारणलाई सरकारी राजश्व संकलनमा सुलभता होस भन्ने उदेश्यले देशका विभिन्न ११ स्थानका यातायात व्यवस्था कार्यालयमा राजश्व संकलन केन्द्र खोली नयाँ सुविधाको थालनी गरेको छ ।
बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने, समयानुकुल प्रविधिको प्रयोग गरी ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।
यसवर्षदेखि बैंकले एटिएम र पस मेसिन दुबैमा प्रयोग गर्न आफ्नो कार्ड संजालमा मास्टर कार्डको सेवा संचालनमा ल्याएको छ । साथै आफ्ना चार लाखभन्दा बढी कार्ड प्रयोगकर्ताका डाटालाई अझ सुरक्षित बनाउन बैंकले विश्व विख्यात डाटा सुरक्षा मापदण्ड सेवाको ३.२ संस्करण प्रमाणिकरण प्राप्त गरेको छ ।
आज भएको साधारणसभाले बैंकमा चार जना संचालक समेत चुनेको छ। कवि कुमार टिवरेवाला,प्रजन्य राजभण्डारी,सूर्यप्रकाश लाल श्रेष्ठ र पृथ्वीबहादुर पाँडे बैंकको संचालक चुनिएका हुन् ।