नेप्से १५ सय अंकमुनि, कारोबारमा सामान्य सुधार


बुधबारको गिरावटपछि नेप्से परिसूचक १५ सय अंकमुनि झरेको छ। यस दिन ९ अंकले नेप्से ओर्लिएर १४९३ अंकमा कायम भएको छ। यो अंक ५ महिनायताकै न्यून हो।

बजारमा कारोबार रकममा सामान्य सुधार आएको छ। १६० कम्पनीको ६३ करोड ६९ लाखको कारोबार भयो। कुल पुँजीकरण १७ खर्ब ३२ अर्बमा खुम्चिएको छ।

समूहगत घटबढ भने यस दिन मिश्रित रह्यो। बैंकिङ समूह ११ अंकले ओर्लिँदा बिमा समूह ८ अंकले बढेको छ। त्यस्तै विकास बैंक समूह २४ अंकले ओर्लिएको छ। होटल १०, जलविद्युत १२ र फाइनान्स ९ अंकले बढेका छन्।

उत्पादन समूह २२ र अन्य समूह ६ अंकले घटेका छन्। यस दिन इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै रकमको कारोबार भयो। कम्पनीको बुक क्लोजको मिति नजिकिँदै गर्दा कारोबार रकम बढेको हो।

३ करोड ३१ लाखको कारोबार हुँदा उसको मूल्य घटेर प्रतिकित्ता ७४० कायम भएको छ।  जनता बैंकको २ करोड ३५ लाखको कारोबार भयो भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड १९ लाखको सेयर किनबेच भयो।

यसैबीच ग्लोबल आइएमई बैंकले १० प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। सहयोगी विकास बैंकले २० प्रतिशत बोनस तथा ४.५ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ। गत बुधबार भएको नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण तथा संस्थापक दुवैतर्फको कारोबार रद्द भएको नेप्सेले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.