ग्रामीण जीवनस्तर उकास्दै सहकारी


ग्रामीण भेगका जनताको जीवनस्तर उकास्ने गतिलो माध्यम सहकारी बनेको छ । गाउँगाउँमा पछिल्लो समय सहकारी स्थापना भएसँगै आर्थिक कारोबार गर्न सजिलो भएको छ ।

कृषि सहकारी, महिला सहकारी, बचत तथा ऋण सहकारीबाट ऋण झिकेर आयआर्जनमूलक व्यवसायमा लगानी गरेर अहिले मनग्य आम्दानी बढाउँदै गएका छन् । बिना धितो सहकारीले व्यवसाय गर्न चाहनेका लागि ऋण लगानी गरिदिन थालेपछि ग्रामीण बस्तीका जनताको जीवनस्तर उकासिँदै गएको हो ।

व्यवसायका लागि बिना झण्झट सहकारीले तत्कालै ऋण उपलब्ध गराएपछि हिजोआज विभिन्न व्यापार, व्यवसाय, उद्योग सञ्चालन गर्नेको संख्या बढ्दै गएको ग्रामीण विकास बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक चिरञ्जीवी सिग्देल बताउछन्। होटल, फेन्सी पसल, किराना पसल, सिलाइकटाइ, ब्युटीपार्लर, कृषिफार्म, कुखुराफार्म, गाईफार्म, पशुफार्मजस्ता व्यवसाय सञ्चालन गरेपछि उनीहरुको जीवनस्तर नै अहिले एकाएक बदलिएको छ ।

बिना धितो सहकारीले व्यवसायमा ऋण दिएपछि रामपुरका बलबहादुर रानाले च्याउखेती र बाख्रापालन गरिरहेका छन्। करिब तीन वर्ष विदेशमा पसिना बगाएर घर फर्कनुभएका रानालाई सहकारीले व्यवसायमा ऋण लगानी गरिदिएपछि उनी च्याउखेती र बाख्रापालनमा लागेका हुन्। राना एउटा याममा चार लाख बराबर तथा बाख्रापालनबाट एक वर्षमा तीन लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।

त्यस्तै टकादेवी भट्टराईले पनि सहकारीबाटै ऋण लिएर तरकारी, कुखुरापालन व्यवसाय र कस्मेटिक्स पसल चलाउँदै आएकी छन्।

“दुई चार पैसाका निम्ति सधैँ श्रीमानको भरमा जीवन जिउनुको सट्टा आफै उद्यमी बन्ने सोच राखेर सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेको छु”– उनले भनिन्।

जिल्लामा आव २०७३÷७४ मा २९१ वटा सहकारी दर्ता भएका छन् । बचत तथा ऋण सहकारी ९०, दुग्ध सहकारी १९, बहुउद्देश्यीय सहकारी ३४, कृषि सहकारी १०५, अदुवा सहकारी नौ, कफी १२, सामाजिक उद्यमी १४, विद्युत् दुई, सञ्चार, जडीबुटी र मौरी एक÷एक, कोसेली घर र बिउबिजन एक÷एक, स्वास्थ्य सहकारी एउटा रहेको सहकारी डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोहोराले जानकारी दिए।

अघिल्लो वर्षको तुलनामा २२ वटा सहकारी दर्ता भएका छन् । २०७२÷७३ मा २७१ वटा सहकारी सञ्चालनमा रहेका थिए । जिल्लामा हाल सञ्चालनमा रहेका सहकारीमा आबद्ध शेयर सदस्य पुरुषभन्दा महिला बढी छन् । सहकारीमा ५३ हजार ६०५ महिला र ३३ हजार ८०० पुरुष आवद्ध छन् । यीमध्ये केही सहकारीले रु ६० करोडभन्दा बढीको कारोबार गर्न सफल भएका छन् ।

एघार लाख किलो तेजपात उत्पादन

जिल्लाबाट आव २०७३÷७४ मा ११ लाख तीन हजार १८ किलो तेजपात उत्पादन भएको छ । दुई लाख १४ हजार ९४२ किलो तेजपातको बोक्रा उत्पादन भएको जिल्ला वन अधिकृत दधिलाल कँडेलले जानकारी दिए।

आव २०७२÷७३ मा नौ लाख ९३ हजार ७११ किलो तेजपात तथा एक लाख ८८ हजार १२४ किलो तेजपातको बोक्रा उत्पादन भएको थियो । यहाँ उत्पादन भएको तेजपात भारतमा निकासी हुँदै आइरहेको छ । व्यावसायिक रुपमा तेजपात खेती गरेर यहाँका कृषकको जीवनस्तर उठ्दै गएको छ ।

एकजना कृषकले कम्तीमा १० रोपनीभन्दा बढी जग्गामा व्यावसायिक रुपमा तेजपात खेती गर्ने गरेको पाइएको छ । जिल्ला वन कार्यालयले कबुलियती र सामुदायिक वनमा आबद्ध कृषकलाई वनको सिफारिसअनुसार आवश्यक मात्रामा वन कार्यालयको नर्सरीमा उत्पादित तेजपातका बिरुवा निःशुल्क वितरण गर्न थालेपछि कृषकको तेजपाततर्फ आकर्षण बढेको हो । कोलडाँडा, सत्यवती, दोभान, छहरा, बल्डेङगढी, मित्याल, झडेवा, रहवासलगायतका स्थानमा व्यावसायिक रुपमा तेजपात खेती गरिँदै आएको छ ।

घरेलु उद्योगबाट ७४ लाख राजश्व

घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा ७४ लाख ५३ हजार राजस्व संकलन गरेको छ ।

उद्योग दर्ता तथा नवीकरणबाट २२ लाख ४२ हजार, वाणिज्यबाट ४१ लाख ४० हजार, पसल भाडाबापत १० लाख २६ हजार र अन्य जरिवाना तथा बिक्रीबाट ४५ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख बालकृष्ण गैह्रेले जानकारी दिए।

यस आवमा व्यापार, व्यवसाय, उद्योग दर्ता नवीकरण गरेकाले अघिल्लो आवको तुलनामा राजस्व संकलनमा वृद्धि आएको उनले बताए। आव २०७२÷७३ मा ४५ लाख २० हजार राजस्व संकलन भएको थियो । उद्योगतर्फ १७ लाख ९२ हजार, वाणिज्यतर्फ १८ लाख ७३ हजार र पसल भाडाबापत आठ लाख ५५ हजार राजस्व संकलन भएको थियो । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.