नेप्सेमा साढे ३ अंकको वृद्धि, यसकारण घटिरह्यो हिमालयन डिस्टिलरीको मूल्य


साउनको अन्तिम दिन सेयर बजार साढे ३ अंकले उक्लिएको छ। सो अंकको वृद्धिपछि १६३२ अंकमा नेप्से अडेको छ। १५८ कम्पनीको ७० करोड ८७ लाखको कारोबार भएको छ। बजारको पुँजीकरण १९ खर्ब १५ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ २, होटल ७, विकास बैंक ३, बिमा ७५ र अन्य समूह २ अंकले बढेका छन्। जलविद्युत ८, फाइनान्स ३ र उत्पादन समूह ५३ अंकले ओर्लिएका छन्।

प्रुडेन्सियल इन्स्योरेन्स संस्थापक, स्टान्डर्ड चार्टड बैंक, नेसनल हाइड्रो कारोबारका आधारमा अगाडि रहे। हाम्रो विकास बैंक, कालिका माइक्रोक्रेडिट नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले ५ प्रतिशत बढी नाफा कमाए।

हिमालयन डिस्टिलरीको मूल्य घटिरह्यो
हिमालयन डिस्टिलरीको मूल्य केही दिनयता निरन्तर उच्च दरले घटेको छ। बुधबार पनि कम्पनीको मूल्य ९. ९ प्रतिशतले घटेको छ।

अघिल्लो दिन पनि सोही प्रतिशतले घटेको कम्पनीको मूल्य आइतबारयता प्रतिकित्ता ३८० रुपैयाँ कम भइसकेको छ। आइतबार प्रतिकित्ता २०५० मा कारोबार भएको कम्पनीको सेयर मूल्य अहिले १६७० मा झरेको छ।

कम्पनीको मूल्य अझै केही दिन झर्न सक्ने अनुमान छ। यसअघि १८ गते कम्पनीको मूल्य हालसम्मकै उच्च प्रतिकित्ता २०७० पुगेको थियो।

कम्पनीको अनेक हल्ला चल्दै गर्दा मूल्य निकै उचालिएको थियो। समग्र बजार घट्दा पनि सधैजसो उच्च नाफा देखिएपछि कारोबारीहरु सो कम्पनीमा तानिएका थिए।

६ महिनाअघिसम्म प्रतिकित्ता ५ सय रुपैयाँको हाराहारीमा रहेको कम्पनीको मूल्य ६ महिनामै उचालिएर ४ गुणा बढेको थियो।

तर मूल्य उचालिएकै बेला कम्पनीको वित्तीय विवरण नै अत्याउनेगरी आएपछि सेयर बेच्नेको ओइरो लागेको छ भने खरिद गर्नेहरु लगभग छैनन्। समग्र व्यवसाय र नाफा खस्किएपछि लगानीकर्ता अत्तालिएका हुन्।

अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ६२ रुपैयाँ रहेकोमा गत आवको पछिल्लो त्रैमासमा १० रुपैयाँमा झरेको छ। जसले गर्दा हालको मूल्यलाई केलाएर मूल्य आम्दानी अनुपात हेर्ने हो भने जोखिमपूर्ण देखिन्छ।

यसले गर्दा अझै केही दिन कम्पनीको मूल्य खस्किएर वास्तविकतानजिक आउने अनुमान गरिएको छ। यसले छोटो अवधिमै उच्च नाफा खोज्नेहरुलाई भने गतिलो पाठ सिकाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.