बस्तु बिनिमय बजारसम्वन्धी विधेयक पारित भएसँगै यो बजारको थप विकास र यसमा रहँदै आएका कमीकमजोरीहरुको समाधानका लागि बाटो खुला भएको छ। यद्यपी नेपालमा तीन बस्तु बिनिमय बजार अर्थात कमोडिटी एक्सचेन्ज संचालनमा रहेका छन्। प्रस्तुत छ, तिमध्येकै एक मर्कन्टाइल एक्स्चेन्ज (मेक्स)का प्रमुख कार्यकारी अधिकृत तथा सेफ (दक्षिण एसियामा रहेका स्टक तथा कमोडिटी एक्सचेन्जहरुको संगठन)का उपाध्यक्ष जितेश सुरेन्द्रनसँग सेतोपाटीका कमल नेपालले गरेको संक्षिप्त कुराकानीः
सर्वसाधारणले बुझ्ने भाषामा भनिदिनुहोस् वस्तु विनिमय कस्तो बजार हो? कहिलेबाट तपाईँहरूले कारोबार गर्नुभयो?यो बजारमा वस्तुहरूको करारमा कारोबार हुने गर्छ। क्रेता र विक्रेताबीच भविष्यमा वस्तु किन्न वा बेच्नका लागि वस्तुको मूल्य, परिमाण, गुणस्तर तथा हस्तान्तरण मिति उल्लेख गरी तयार गरिएको करारलाई वस्तुको करार भनिन्छ। त्यस्ता कारारको भौतिक हस्तान्तरण तथा नगदमा समेत राफसाफ हुने व्यवस्था हुन्छ। यस्तो किसिमको करार कारोबारका लागि कमोडिटी एक्सचेन्ज अर्थात वस्तु विनिमय बजार सूचीकृत गरिएका हुन्छन्।
यो बजारमा वस्तुहरूको माग र आपूर्तिको आधारमा वस्तुको करारको निष्पक्ष मूल्य आविष्कार हुन्छ। सामान्यतया यस्तो बजारमा प्राकृतिक कच्चा (तयारी वस्तुबाहेक) धातु, ऊर्जा तथा कृषिजन्य वस्तुको कारोबार भएता पनि बदलिँदो परिदृश्यमा ब्याजदर, मुद्रा तथा सूचाङ्कजस्ता वस्तुहरूमा समेत कारोबार हुँदै आएको छ।
वस्तु बजारमा कारोबारीले वस्तुको मूल्यमा हुने उतार चढावबाट सृजित जोखिम न्यूनीकरण गर्न तथा उक्त उतारचढावबाट फाइदा लिन वा दुई बजार (सोभन्दा बढी)बीच कहिलेकाहीँ हुन सक्ने मूल्य फरकबाट फाइदा लिने उद्देश्यले कारोबार गर्छन्। साथै वस्तु नै खरीदविक्री गर्नलाई समेत यस बजारमा कारोबार गर्ने गरिन्छ।
मेक्स २००७ अगष्ट १४ मा दर्ता भएता पनि २००९ जनवरी ५ बाट संचालनमा आएको हो। विभिन्न तयारी गर्नु पर्ने हुँदा हामीलाई संचालनमा आउन करिब डेढ वर्ष लाग्यो।
सुरुमा हामीले ११ वटा वस्तुबाट सुरु गरेका थियौँ। सबै वस्तु नगदमा मात्र राफसाफ हुन्थ्यो। हाल १८ वटा बस्तुहरुको ३५ वटा भन्दा बढी कारारमा कारोबार भैरहेको छ। सुन, चाँदी, तामा, कच्चा तेल, कपास, कफी हाम्रो धरै कारोबार हुने वस्तुहरु हुन्। अरु वस्तुहरुमा पनि रामै्र कारोबार छ। साथै सुन, चाँदी र अण्डाचाही हामीले भौतिक हस्तान्तरणको रुपमा पनि उपलब्ध गराएका छौँ।
त्यसका साथै अहिले हामीले फ्यूचर्स र अप्सन दुइटैमा कारोबार गराईरहेका छौं। २०१२ मा हामीले पुरै विद्युतीय करोबार प्रणाली (अटोमेटेड ट्रेडिङ्ग सिस्टम) परिवर्तन गर्यौँ। जहाँ आदेश मिलान पद्धतिबाट कारोबार हुन्छ र जहाँ धरै बजार निर्माताले एउटै करारमा आफ्नो आदेशहरु दिन सक्छन्। अहिले मोबाईलबाट समेत कारोबार गर्न मिल्छ भने बजार गहिराई हेर्ने व्यवस्था समेत रहेको छ।
सर्वसाधारणले बस्तु बजारमा छिरेर कारोबार गर्न चाहेमा कसरी गर्ने?एक्स्चेन्ज आफैले कारोबारी अथवा ग्राहक प्रत्यक्ष रुपमा दर्ता गर्दैन। त्यसको लागि हामीसँग आवद्ध करिब ५५ वटा सकृय ब्रोकर कम्पनीहरु रहेका छन्। त्यहाँ सम्पर्क गरी नेपाल सरकारले जारी गरेको आफ्नो परिचयपत्र (नागरिकता, पासपोर्ट अन्य), बैङ्क वा ईसेवामा खाता रहेको प्रमाण र फोटो सहित अनलाईन वा कागजी रुपमा एक्चेन्जले उपलब्ध गराएको ग्राहक दर्ता फारम भर्न सकिन्छ। ग्राहक दर्ता फारम क्लियरिङ हाउसले स्विकृत गरेपछि कारोबारीले ‘ग्राहक कोड’ प्राप्त गर्दछ र लागानी रकम जम्मा गरी कारोबार गर्न सकिन्छ। हाम्रोमा सम्पूर्ण कारोबार बैङ्क मार्फत मात्र हुन्छ र त्यो पनि ग्राहकले उपलब्ध गराएको बैङ्क खाताबाट मात्र कारोबार गर्न मिल्छ। जसले वस्तुको कारोबारमा सम्पत्ति शुद्धीकरणको प्रभाव पर्न दिँदैन।
कारोबारको लागि वस्तुको सम्पुर्ण मूल्य लगानी गर्नु पनि आवश्यक छैन। जहाँ एक्सचेन्जले तोकेको न्यूनतम मार्जिन अर्थात धितो रकमभन्दा माथि आफूलाई उपयुक्त रकम जम्मा गरी कारोबार सुरु गर्न सकिन्छ। त्यस्तो मार्जिन रकम समान्यतया एक्सचेन्जले वस्तुको मूल्य र त्यसको उतार चढावलाई मध्यनजर गर्दै ३ प्रतिशत देखि १० प्रतिशत सम्म राखेको हुन्छ।
अहिलेको कारोबार रकम वा लगानीकर्ताको संख्या कस्तो छ?हामीसँग करिब ५–६ हजारको संख्यामा लगानीकर्ताहरु रहेका छन् भने मासिक रुपमा ३० हजार देखि ४० हजार लटसम्म कारोबार हुन्छ। हामीले कारोबारीको मुनाफामा लाग्ने टिडिएस मासिक रुपमा करिब १२–१५ लाखजति सरकारलाई बुझाई रहेका छौँ। त्यसका अतिरिक्त कारोबार शुल्कमा भ्याट पनि लाग्छ। हाल कारोबारीको मुनाफमा १० प्रतिशत टिडिएस लाग्ने गरेको छ। जुन वास्तवमा पुँजीगत लाभकार हो र यो अन्य मुलकुको तुलनामा अधिक हो। नेपाली शेयर बाजरमा पनि ५ प्रतिशत मात्र लाग्दछ।
तसर्थ हामीले पटकपटक बस्तु बजारको कारोबारको मुनाफामा लाग्ने करलाई पूँजीगत लाभकारको शिर्षकमा राख्ने र अधिकतम ५ प्रतिशत वार्षिक नाफा नोक्सानसँग समायोजन गर्ने किसिमले लगाउनु उपयुक्त हुन्छ भन्ने आवाज उठाइरहेका छौँ।
धेरैले त नेपालमा कमोडिटी मार्केट जरुरी छैन भन्ने गरेका छन्, तपाईहरुको धारणा के हो?विगत १० बर्षदेखि यो बजारमा हामी लागिरहेका छौँ र केही दिनअघि यस बजारसम्बन्धी विधेयक संसदबाट परित भएको छ। यो प्रकियाले नै वस्तु बजार नेपालको लागि आवश्यक छ भन्ने कुरालाई प्रष्ट पारिसकेको छ। विकसितदेखि विकासोन्मुख सबै देशहरुमा संचालनमा रहेको र देशको अर्थतन्त्रलाई नै टेवा पुर्याउने किसिमको बजारको आवश्यकता छैन भन्नु मलाई सान्दर्भिक लागेन। यो बजार एक लगानीको क्षेत्र मात्र नभई मूल्य जोखिमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउँदछ। नेपाल कृषि प्रधान देश हो। यद्यपी किसानले सही मूल्य पाईरहेका छैनन्। अर्कोतर्फ उपभोक्ता महँगो मूल्य तिर्न बाध्य छन्। हामीसँग त्यसको थुप्रै उदाहरणहरु छन् चाहे त्यो अलैँची, अदुवा होस वा उखु किन नहोस। यो बजारको अपेक्षित विकास हुन सके किसान देखि उपभोक्ता सम्मलाई फाईदा पुग्ने हुनाले यस बजारको अवश्यकता र विकास धेरै जरुरी छ।
विधेयकमा त कमोडिटी एक्स्चेन्ज कम्पनीको चुक्ता पुँजी तथा अन्य पूर्वाधार तोकेको छ, तपाईँहरूको पुग्छ ?हामीसँग यो क्षेत्रमा १० वर्षको अनुभव छ र तोकेको चुक्ता पुँजी पु¥याउन हाम्रो लागि कठिन विषय हैन। तर त्यसको प्रयोग कता गर्ने भन्ने बिषय अहिले महत्वपूर्ण छ हाम्रो लागि। किनकि विधेयकमा तोकिएको चुक्ता पूँजी अन्य मुलुकको तुलनामा र नेपालको एक्चेन्जका लागि अधिक हो। सायद यो एक्सचेन्जको संख्या कम गर्ने रणनीतिको रुपमा पनि आएको हुन सक्छ। विधेयक पारित भएको छ। हामी धेरै खुसी छौं। नियमनको जिम्मेवारी धितोपत्र बोर्डले पाएको छ। तसर्थ धितोपत्र बोर्डलाई बधाई र उत्कृष्ट नियमनकारीको भूमिका निभाउन सफलता मिलोस् शुभकामना दिन चाहन्छु।