मेगा बैंकको सातै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ रहने, ६५% हकप्रद चाँडै


सातौं वर्ष पूरा गरी मेगा बैंक आठौँ बर्षमा प्रवेश गरेको छ। प्रधान कार्यालयमा आयोजित बार्षिकोत्सव कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरे। त्यसको सुरुवात प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको उनले जानकारी दिए।

अध्यक्ष शाहले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको भन्दै टुरिजमसँगको मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्ये पर्ने बताए। चालू आर्थिक बर्षमा नै टुरिजमसँगको मर्जर प्रक्रिया सकिने उनको भनाई छ। ‘संघीयताको कार्यान्वयनसँगै नयाँ–नयाँ आर्थिक सम्भावना र चुनौतीहरु देखिन थालेका छन्। त्यसैले नयाँ शहरका रुपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ सम्पर्क र सम्बन्ध विस्तार गर्ने योजना बनाएका छौँ,’ अध्यक्ष शाहले भने – ‘त्यसका लागि हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौँ ।’ आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्ने उनले बताए।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले चालु आर्थिक बर्ष २० वटा नयाँ शाखा खोल्ने जानकारी दिए। स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै उनले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गरिने जानकारी दिए।

सिइओ शाहले बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको बर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको बताए। स्थापनाको पहिलो बर्षदेखि नै मेगा बैंकले नाफा आर्जन गरेको बताउँदै उनले आगामी बर्षदेखि मेगाको मुनाफा झनै बढ्ने बताए।

सिइओ शाहले शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै छिट्टै प्रतिशेयर एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४.३३ कित्ता शेयर शेयरधनीहरुलाई निष्काशन गर्न लागेको बताए। वार्षिकोत्सवका अवसरमा मेगा बैंकले काठमाडौँको बौद्धमा संचालित ‘गरिब तथा अनाथ बालिका गृह’ लाई एक लाख रुपैँया आर्थिक सहयोग प्रदान गरेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.