यस्तो आयो सिटिजन्स बैंकको वार्षिक वित्तीय रिपोर्ट


वाणिज्य बैंकहरुमा पहिलो पटक सिटिजन्स बैंकले आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले एक वर्षको अवधि अर्थात गत आवमा १ अर्ब २१ करोड खुद नाफा कमाएको छ।

अघिल्लो वर्षभन्दा उसको नाफा १३ करोड बढी हो। कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा छ। चुक्ता पुँजी वृद्धिका लागि कम्पनीले दुई पटकसम्म हकप्रद सेयर निश्कासन गरेकाले प्रतिसेयर आम्दानी खुम्चिएको देखिन्छ।

बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ९२ करोड पुगेको छ। गत आवको नाफाबाट बैंकले १६ प्रतिशत बोनस सेयर दिएपछि सहजै चुक्ता पुँजी ८ अर्ब पुग्नेछ।

बैंकको जगेडा कोषको आकार २ अर्ब ५२ करोड छ। बैंकले व्याजवापत एक वर्षमा कुल १ अर्ब ७५ करोड रुपैयाँ आम्दानी गरेको छ। बैंकको ओभरड्राफ्ट, अन्य र रियल स्टेटमा बढी मात्रामा कर्जा प्रवाह भएको देखिन्छ।

बैंकको आधार व्याजदर ११. १७ प्रतिशत छ। सिडी (क्रेडिट टु डिपोजीट) रेसियो ७७ दशमलव ३४ प्रतिशत छ। यसको अर्थ बैंकमा लगानीयोग्य रकम कम छ। यस्तो रेसियो बढीमा ८० प्रतिशतसम्मको सीमा तय गरिएको छ। निश्क्रिय कर्जा १. २८ प्रतिशत छ।

अघिल्लो वर्षभन्दा गत आवमा निश्क्रिय कर्जामा बैंकको सुधार देखिन्छ। अघिल्लो वर्ष यस्तो कर्जा १. ३८ प्रतिशत थियो। इक्वीटीमा १६. ४, एसेस्ट्समा १.९९ प्रतिशत रिटर्न छ।

प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ छ। मूल्य आम्दानी अनुपात २३ छ। यसको अर्थ १ रुपैयाँ नाफाका लागि बैंकमा लगानी २३ रुपैयाँ गर्नुपर्दछ। बजारमा उसको प्रतिसेयर मूल्य बिहीबारसम्म ४ सय ८ रुपैयाँ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.