सेयर कारोबारमा तत्काल भ्याट नलाग्ने


सेयर कारोबारमा तत्काल भ्याट नलाग्ने भएको छ। नयाँ आर्थिक वर्षदेखि भ्याट लाग्ने हल्ला चले पनि त्यो निराधार रहेको सम्वद्ध अधिकारीहरुले स्पष्ट पारेका छन्।

नयाँ आर्थिक वर्ष अर्थात आगामी आइतबारदेखि सेयर कारोबार हुँदा भ्याट लाग्ने हल्ला चल्दा बिहीबारको बजार समेत प्रभावित भएको थियो। नेपाल स्टक एक्स्चेन्जका अनुसार भ्याट लाग्नेगरी कुनै पनि पक्षले परामर्श गरेका छैनन्। केही दिनअघि नेप्सेमा कर कार्यालयका अधिकारीहरु आएर सिस्टमको सम्वन्धमा जानकारी लिएका थिए, पछिल्लो समय कुनै परामर्श भएको छैन’ नेप्से स्रोतले भन्यो।

एक्स्चेन्जका अनुसार ब्रोकर कम्पनीहरुले नै लगानीकर्तालाई दिने कारोबार विवरणमा भ्याट जोड्ने भएकाले नेप्सेको सिस्टममा कुनै फेरबदल गर्नु पर्दैन।

नेपाल स्टक ब्रोकर एसोसिएसनले पनि भ्याटका विषयमा अहिले कुनै तयारी नभएको स्पष्ट पारेको छ। एसोसिएसनका सचिव टंक गौतमले आन्तरिक राजश्व विभागले यसअघि सामान्य परामर्श गरे पनि अहिले मौन रहेको उल्लेख गरे। ‘तत्काल भ्याट लाग्नेगरी कुनै तयारी र सहमति भएको छैन, ब्रोकर कम्पनीहरुसँग सहमति र परामर्शपछि मात्रै विभागले यसलाई अगाडि बढाउने हो’ उनले भने।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष आत्माराम घिमिरेले सेयर कारोबारमा भ्याट लगाउन नमिल्ने दावी गर्दै यस सम्वन्धमा कर कार्यालयले आफूहरुसँग परामर्श गरेर मात्रै अगाडि बढ्ने आश्वासन दिएको स्पष्ट पारे। ‘यसअघि कर कार्यालय प्रमुखसँगै हामीले छलफल गरेका थियौँ, उहाँले आफूहरुले एकतर्फी रुपमा भ्याट नलगाउने स्पष्ट पार्नुभएको छ’ घिमिरेले भने।

यसअघि इन्भेष्टर फोरमले सेयर कारोबारमा भ्याट लगाएमा कारोबार बहिष्कार गर्ने चेतावनी समेत दिएको थियो। सेयर कारोबार वित्तीय क्षेत्र अन्तर्गत रहेको र नियमावलीले नै स्पष्ट रुपमा भ्याट नलाग्ने उल्लेख गरेकाले यसमा कुनै पनि हालतमा भ्याट लगाउन नमिल्ने घिमिरेको भनाई छ।

‘जव नियमावलीको अनुसूचीले नै स्पष्ट रुपमा सेयर खरिदबिक्रीमा भ्याट नलाग्ने भनेर उल्लेख गरेको छ, भने कुन नियमलाई आधार बनाउन खोजिएको हो, कसैले बुझ्न नसकेको कुरो हो’ उनले भने।

इन्भेष्टर फोरम मात्रै नभई लगानीकर्ता संघले पनि सेयरमा भ्याट नलाग्ने भन्दै भ्याट लगाइए बजारको विकास पछाडि पर्ने चेतावनी दिएको छ। लगानीकर्ता संघका महासचिव नवराज सुवेदीले भने ‘सेयर कसैले उपभोग गर्ने चिज होइन, यो त एकबाट अर्कोमा हस्तान्तरण भइरहने र रहीरहने वित्तीय औजार हो, त्यसकारण भ्याट लाग्ने भनेर त्रसित हुनु पर्दैन।’ आजसम्म सेयरमा भ्याट लाग्ने नियमावली नै नरहेको र यो संभव नभएको पनि उनले उल्लेख गरे।

यसअघि गत बुधबार धितोपत्र बोर्डमा आयोजित एक कार्यक्रममा अध्यक्ष डा. रेवतबहादुर कार्कीले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएका थिए। लगानीकर्तालाई लागत बढ्नेगरी अहिले कसैले पनि निर्णय गर्न नहुने उनले बताए। ‘नेपालको धितोपत्र बजार भर्खर बामे सर्दै गरेको बजार हो, अहिले कसैले यसमा अनेक नाममा लागत बढाउने काम गर्नु हुँदैन।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.