सेयर बजारमा ३१ अंकको वृद्धि, कारोबारमा सुधार


साता कारोबारको अन्तिम दिन सेयर बजारमा ३१ अंकको वृद्धि भएको छ। कारोबार खुलेदेखि नै बढेको नेप्से कुनै समय पनि रातो हुन पाएन।

कम्पनीहरुले चालु आवको वार्षिक रिपोर्ट सार्वजनिक गर्ने समय नजिकिनु, मौद्रिक नीतिप्रति सकारात्मक अपेक्षा बढ्नु, अभाव भएको लगानीयोग्य रकममा सुधार आउनु तथा साउनदेखि १० लाखभन्दा माथिको नगद कारोबार गर्न रोक लगाउने तयारी भएपछि सेयर बजारमा त्यसको प्रभाव देखिएको हो।

आजको कारोबारपछि नेप्से परिसूचक १५८२ अंकमा कायम भएको छ। कारोबार रकममा उल्लेख्य सुधार आएको छ। १४८ कम्पनीको ७६ करोड ३० लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन सबै समूहहरु बढेका छन्।

बैंकिङ २४, होटल ५८, विकास बैंक ३९, जलविद्युत २०, फाइनान्स ४, बिमा ३१९, अन्य ४ र उत्पादन समूह ११ अंकले बढेका छन्। नेरुढ लघुवित्तको सबैभन्दा धेरै ६ करोड २० लाखको कारोबार भयो। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ४९ लाखको सेयर किनबेच भयो।

सानिमा, एनसीसी र स्टाण्डर्ड चार्टड बैंक पनि कारोबारका आधारमा अगाडि देखिए। अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले ७ प्रतिशत मूल्य कमाउँदा अन्य नाफा कमाउनेहरुले भने ६ प्रतिशत मुनिमै चित्त बुझाए।

निर्धन उत्थान तथा नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ६ प्रतिशतले बढेको छ। बजार बढ्दा पनि प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले ८ प्रतिशत मूल्य गुमाए।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.