व्यवसायी दिपक भट्टको सेयर कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमतिपत्र नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ।
ब्रोकर नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत् भट्टले सेयर खरिद गरेका थिए।
भट्टले सेयर कारोबारका लागि आफ्नो सिद्धार्थ बैंकको खाता प्रयोग नगरी अन्यत्रबाट सेयर कारोबारको भुक्तानी भएको पाइएको थियो।
भट्टले खरिद गरेको सेयर भुक्तानीका लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआइ लार्ज क्याप फण्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको हो।
यो ब्रोकर कम्पनीले ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो बापतको रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको, आवश्यक कानुनी व्यवस्था पालना नगरेको तथा अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएको थियो।
कम्पनीले खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गरिदिने र बिक्रीकर्तालाई समयमै रकम नदिने जस्ता कार्य गरेको पनि बोर्डले उल्लेख गरेको छ।
चैत १२ गतेसम्म कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम करिब ५ अर्ब ११ करोड रूपैयाँभन्दा बढी रहेको देखिएको छ।
यस्ता गतिविधिले सेयर मूल्यमा असर पार्ने र पुँजी बजारमा नकारात्मक प्रभाव पर्ने भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको अनुमतिपत्र तत्काल निलम्बन गरेको हो।
बोर्डले निलम्बन अवधिमा कम्पनीलाई कानुनी व्यवस्था अनुसार लगानीकर्ताको बक्यौता रकम फर्छ्यौट गर्न निर्देशन दिएको छ।
साथै, उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्तालाई आवश्यक परे अन्य दलालमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने पनि जनाइएको छ।
व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उनले गैरकानुनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाउने, छल्ने, स्वरूप बदलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।