बजारमा कारोबार भएको तीन मिनेटकै नेप्से परिसूचक ६ प्रतिशतले बढेर दोस्रो सर्किट ब्रेक लागेको छ।
बजार खुलेको एक मिनेटमै नेप्से १०८ अंक (चार प्रतिशत) बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। त्यसपछि बजार २० मिनेटपछि खुलेको थियो।
तर, यसरी खुलेको अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक पनि लागेको थियो। त्यसपछि ४० मिनेटको लागि बजार स्थगित भएको छ।
१२ बजेर एक मिनेट जाँदा नेप्से ६ प्रतिशत (१६२ अंक) बढ्यो र तेस्रो सर्किट ब्रेक लाग्यो।
बजार ६ प्रतिशतमा बढेपछि दिनभरीकै लागि कारोबार रोक्का भएको छ।
यो अवधिमा ५१ करोड रूपैयाँको सेयर कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेर १७५१ रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
यस्तै, शिभश्री हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २१३ रूपैयाँ ४० पैसा पुगेको छ।
हिमालयन रिइन्स्योरेन्स, सिटी होटल र निफ्राको मूल्य पनि सर्किट लेभलमा बढेको छ।
यसदिन मूल्य घट्ने कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको मूल्य १.४९ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ६७५ रूपैयाँ ३० पैसामा झरेको छ।
सोमबार नारायणी डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता एक हजार ५२२ रूपैयाँ ९० पैसामा ३ करोड १३ लाख बराबरको सेयर कारोबार भएको हो।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.७४ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ६७५ रूपैयाँमा २ करोड ८९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसमध्ये व्यापार समूहको परिसूचक सर्वाधिक ७.७३ प्रतिशतले बढेको छ।
निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र मत परिणामहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटैले एकल सरकार बनाउन सक्ने देखाएपछि लगानीकर्ताहरू उत्साहित भएका हुन्।
स्थिर सरकार बन्ने देखिएकोले लगानीकर्ताहरूमा उत्साह बढेको हो।
समय अन्तरालमा विकसित हुँदै जाने राजनीतिक घटनाक्रम, बजारसँग सम्बन्धित नीतिगत सुधार, बैंकहरूको ब्याजदर, पुँजी उपलब्धता र सूचीकृत कम्पनीहरूको वित्तीय अवस्थामा हुने परिवर्तनले बजारलाई प्रभाव पार्दै लान्छ।
नेप्सेमा हालै गोल्डेन क्रस ओभर भएको छ। लामो अवधिको प्रवृत्ति विश्लेषणमा प्रयोग हुने मुभिङ एभरेज रेखाले यस्तो देखाएको हो।
५० दिने मुभिङ एभरेज रेखाले २०० दिने रेखालाई काटेर माथिमा लागेमा गोल्डेन क्रस ओभर भएको मानिन्छ। यसले बजार केही समयसम्म बढ्न सक्ने दरिलो संकेत गर्छ।
प्राविधिक विश्लेषणले पनि बजार बढ्न सक्ने संकेत गरिरहेको थियो।