नेपाली मूलका व्यवसायी समिर मास्केको कम्पनी फ्युज मेसिन अमेरिकी सेयर बजार नासड्याकमा कारोबारमा आएको छ।
गत मंगलबारबाट कम्पनीको सेयर कारोबारमा आएको हो। हाल अमेरिकामा रहेका गभर्नर डा.विश्वनाथ पौडेलले मास्केलाई बधाइ समेत दिएका छन्।
उनले भने, ‘आज नासड्याकमा फ्युज मेसिनको सेयर कारोबार सुरू भयो। संयोगले नेपाल फर्कदै गर्दा फ्युज मेसिनका संस्थापक डा. समिर मास्केसँग टाइम्स स्क्वायरमा आज भेट भयो। एक अग्रणीको रूपमा नेपालीहरूले डा. मास्केलाई सधैं सम्मान गर्ने छन्।’

फ्युज मेसिन गत माघमा फ्युज मेसिन इंक र ब्ल्यांक चेक कम्पनी सिएसएलएम एक्विजिसन कर्पबीच मर्जर समेत भएको थियो।
करिब २० करोड अमेरिकी डलर रकममा सम्झौता भएको थियो।
सिएसएलएम एक्विजिसन कर्पसँगको सम्झौताका कारण कम्पनीले सेयर निष्कासन गरेर मात्रै बजारमा सूचीकृत हुनुपर्ने परम्परागत तरिकाभन्दा सजिलो बाटोबाट सूचीकृत हुन पाएको हो।
अहिले कम्पनीको सेयर कारोबार पनि एफयुएसईको नामबाट भएको छ। बिहीबार कारोबारमा कम्पनीको सेयरले चार डलर मूल्य पाएको ट्रेडिङ भ्युले देखाएको छ।
'सानो उद्देश्य केन्द्रित टोलीबाट सुरुआत गरी नासड्याकमा सूचीकृत हुनेसम्मको यो उपलब्धिले हाम्रो नवप्रवर्तन क्षेत्रप्रतिको अटुट प्रतिबद्धतालाई देखाउँछ, ‘फ्युज मेसिनका संस्थापक डा.समिर मास्केले भने, ‘हामीले निर्माण गरेको प्लेटफर्म र हाम्रा साझेदार तथा ग्राहकहरूले हामी माथि देखाएको विश्वासप्रति हामी गर्व गर्छौं। यो सूचीकरण हाम्रो अर्को अध्यायको सुरुआत हो जसको केन्द्रमा अनुशासित वृद्धि, रणनीतिक लगानी र हाम्रा सेयरधनीहरूका लागि दिगो मूल्य सिर्जना रहनेछ।'
सन् २०१३ मा मास्केले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धी स्टार्टअप कम्पनी स्थापना गरेका थिए।
व्यवसायिक प्रयोजनका लागि कम्पनीले कृत्रिम बौद्धिकता सम्बन्धी उत्पादन गर्दै आएको छ।
मिडिया कम्पनी टाइम इंक, एयसपोर्ट कन्सेसन अपरेटर ओटिजी लगायतलाई कम्पनीले आफ्नो उत्पादन बिक्री गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गले उल्लेख गरेको छ।
नेपालमै जन्मिएर यहीँ हुर्किएका मास्के स्नातक अध्ययनका लागि अमेरिका पुगेका थिए। उनले कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
सन् २०१७ मा मास्केले नेपालमा फेलोसिप कार्यक्रम चलाएर विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए भने पछि ती विद्यार्थीहरूलाई कम्पनीमै रोजगारी समेत दिए।
फ्युज मेसिनको सुरूआती समयको ग्राहकमा सिटी अफ न्यूयोर्क थियो, जसका लागि कम्पनीले हजारौं च्याटबट तयार गरेको थियो।
यो स्टार्ट कम्पनीले सुरूमा एक करोड अमेरिकी डलर बिउ पुँजी (सिड मनी) उठाएको थियो। जसलाई डोल्मा इम्प्याक्ट फण्ड र फ्युचर पर्फेक्ट भेन्चर्सले लगानी गरेको थियो।
यसले हाल नेपाल र उत्तर अमेरिकाका पाँच सयभन्दा धेरैलाई रोजगारी दिएको छ।