सोमबार नेप्से परिसूचक ४४ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से ४४.२५ अंकले बढेर २५४७ बिन्दुमा पुगेको हो।
धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै नेप्सेमा सुधार देखिएको हो।
धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो।
प्राविधिक विश्लेषणले पनि २५ सयको विन्दुमा नेप्सेले टेवा पाएको देखाएको छ।
यसदिन बजार बढेपनि कारोबार रकम भने घटेको छ। आइतबार भने ६ अर्ब ७० करोड रूपैयाँको कारोबार भएकोमा सोमबार चार अर्ब ९७ करोड रूपैयाँको कारोबार भएको हो।
हालै राष्ट्र बैंकले एकल ग्राहक कर्जा सीमा हटाएपछि पनि बजार बढ्ने आशामा देखिएको थियो।
तर, भदौ २४ गतेको प्रदर्शनको कारण बीमा कम्पनीमा परेको असर, असोजमा बाढीबाट जलविद्युत आयोजनाहरूमा गरेको क्षति, प्रदर्शनपछि सरकार बिस्तारमा देखिएको गतिरोध, धुमिल राजनीतिक परिदृश्य लगायतको कारण लगानी वातावरण बन्न सकिरहेको छैन।
धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार सुधारका काम अगाडि बढाउने प्रतिबद्धता जनाएपनि बोर्डका कर्मचारीहरू भने अझै आन्दोलनमै छन्।
बोर्डको काम नै ठप्प पारेर कर्मचारीहरू आन्दोलनमा रहेकाले प्रतिबद्धता अनुसार सुधारका काम कसरी बढ्छ भन्ने अन्योल कायमै रहेकोले कारोबार रकम बढ्न सकेको छैन।
आज तीन सय ३० लगानी उपकरण कारोबारमा आउँदा दुई सय ४९ वटाको मूल्य बढेको छ। ६२ वटाको मूल्य घटेको छ भने बाँकीको स्थिर छ।
कारोबारमा आएका सबै समूहगत परिसूचक बढेका छन्। ‘अन्य’ र होटेल समूह सबैभन्दा धेरै बढेका छन्। यी समूहगत परिसूचकमा क्रमशः ५.०१ प्रतिशत र ३.३५ प्रतिशतले वृद्धि भएको छ।
नेपाल माइक्रोइन्सुरेन्सको सबैभन्दा धेरै १० प्रतिशतले मूल्य बढेर सर्किट ब्रेक लागेको छ। कम्पनीको एक हजार तीन सय रूपैयाँमा अन्तिम कारोबार भएको हो।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ५.२६ प्रतिशतले मूल्य घटेको छ। कम्पनीको एक हजार आठ सय रूपैयाँमा अन्तिम कारोबार भएको हो।
एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सबैभन्दा धेरै ३१ करोड ९१ लाख रूपैयाँको सेयर कारोबार भएको हो।