सेयर बजार परिसूचक नेप्से मंगलबार पनि सामान्य अंकले बढ्न सफल भएको छ। सोमबार २१ अंक बढेको नेप्सेले मंगलबार थप ४.८३ अंक जोडेको हो। सेयर बजार बन्द हुँदा नेप्से परिसूचक २,७६६.०९ विन्दुमा आइपुगेको छ।
बजार बढेपनि कारोबार रकममा भने कमी आएको छ। तीजको दिन परेकोले यस दिन महिला कारोबारीको संख्या न्यून हुने भएकाले पनि कारोबार रकम घटेको हो। सोमबार पाँच अर्ब ७५ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार चार अर्ब १८ करोडको सेयर किनबेच भएको छ।
यस दिन कारोबारमा आएको समूहगत परिसूचकमध्ये अन्य समूह सबैभन्दा धेरैले बढेको छ। यो समूहमा १.४२ प्रतिशतले वृद्धि भएको हो। कारोबार अवधिमा विकास बैंक समूह पनि एक प्रतिशतभन्दा धेरैले बढेको थियो, तर अन्तिम समयमा ०.९६ प्रतिशतले मात्रै बढेको छ।
चार समूहगत परिसूचक घटेका छन्। लगानी, उत्पादनमुलक, लघुवित्त र निर्जीवन बीमा कम्पनी समूह घटेका हुन्।
तीन सय २२ वटा धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा एक सय ३५ को मूल्य बढेको छ भने एक सय ७२ को मूल्य घटेको छ। बाँकीको मूल्य स्थिर छ।
आइपिओ जारी गरेर सूचीकरण भएयता लगातार बढी रहेको विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्य यस दिन पनि सबैभन्दा धेरैले बढेको छ। कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेर सर्किट ब्रेक लागेको छ। अन्तिम कारोबार चार सय ७० मा भएको छ।
कुमारी सबल योजनाको मूल्य सबैभन्दा धेरै ३.६६ प्रतिशतले घटेको छ। सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४८ करोड ९५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।