भदौ १८ सम्मको तथ्यांक हेर्ने हो भने राष्ट्र बैंकले साउनयता पटक–पटक गरेर २१ चोटिसम्म बैंकिङ प्रणालीबाट रकम तान्दै फाल्दै गर्यो।
स्थायी निक्षेप सुविधाअन्तर्गत यसरी तान्दै फाल्दै गरेको रकम जोड्दा ५५ खर्ब ५४ अर्ब रूपैयाँ पुगेको छ। बैंकहरूले यसमध्ये एक खर्ब ४५ अर्ब रूपैयाँ फिर्ता पाउन बाँकी छ।
स्थायी निक्षेप सुविधाबाट मात्रै होइन राष्ट्र बैंकले अन्य विभिन्न उपकरणबाट बैंकिङ प्रणालीमा बढी भएको रकम पनि तान्ने गर्छ।
बैंकिङ प्रणालीमा पुँजीको आउजाउ भइरहने भएकोले राष्ट्र बैंकले यसरी निश्चित समयको लागि मात्रै रकम प्रणालीबाट तान्छ। समय अवधिपछि प्रणालीमै यो रकम जान्छ। तर, रकम धेरै नै भइरहेको अवस्थामा भने फेरि पनि तानिरहेको हुन्छ।
जसरी प्रणालीमा धेरै भएको रकम तान्न राष्ट्र बैंकले विभिन्न उपकरण जारी गर्छ, त्यसैगरी प्रणालीमा रकम कम हुँदा पनि पैसा पठाउने उपकरण जारी गर्छ।
यही क्रममा राष्ट्र बैंकले बुधबार पनि अर्को उपकरण निक्षेप संकलन विधिबाट २१ दिनको लागि ४० अर्ब रूपैयाँ प्रणालीबाट उठाउन लागेको छ।
यसले नै अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी भएको, कर्जा विस्तार हुन नसकिरहेको देखाउँछ।
तथ्यांक अनुसार तीन दिनअघि गत आइतबारसम्म बैंकहरूमा निक्षेप संकलन ६४ खर्ब ६४ अर्ब रूपैयाँ छ। कर्जा लगानी ५१ खर्ब ९४ अर्ब रूपैयाँ छ।
बैंकहरूको निक्षेपको तुलनामा ७८.९४ प्रतिशत मात्रै कर्जा लगानी भएको छ। बैंकहरूमा अहिले लगानी हुन नसकेर थुप्रिएको रकमनै ६ खर्ब २३ अर्ब रूपैयाँ हाराहारी छ। त्यसैले पनि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले रकम खिचिरहेको हो।
भदौ १८ सम्मको तथ्यांक अनुसार विभिन्न उपकरणमार्फत् बैंकिङ प्रणालीबाट तानेको मध्ये कुल दुई खर्ब ९० अर्ब रूपैयाँ राष्ट्र बैंकमै छ।
कर्जा अपेक्षित दरमा नबढे पनि केही न केही भने गइरहेकै छ। पछिल्लो समय राष्ट्र बैंकले उठाएर फिर्ता दिन बाँकी रकम घट्दो प्रवृत्तिमा छ।
गत भदौ ५ गते राष्ट्र बैंकले प्रणालीमा फिर्ता गर्नुपर्ने रकम तीन खर्ब ३३ अर्ब रहेकोमा बुधबार भदौ १८ गते यस्तो रकम दुई खर्ब ९० अर्बमा सीमित भइरहेको छ।
यसले कर्जा विस्तार झिनै दरमा भए पनि बढिरहेको देखिन्छ।