माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटिटेकले एकीकृत व्यापारी व्यवस्थापन प्रणाली (गेट पे) सञ्चालनको लागि त्रिपक्षीय सम्झौता गरेका छन्।
उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटिटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्र्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरे।
नेप्स र सिटिटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक एमएमएस सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरूलाई बैंक र व्यापारीहरूले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन्।
सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग–अलग रजिष्ट्रेशन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्ममार्फत् सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ।
यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरू तथा सञ्जालहरूलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरूलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डेटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरूमा पुग्ने, पटक–पटक व्यापारीको रजिष्ट्रेशन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरुले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन्।
सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन्।