घोराही सिमेन्टको आइपिओ रोकेको धितोपत्र बोर्डले मुख्य तीन विषयमा अध्ययन गर्ने बताएको छ।
मंगलबार संसदको अर्थ समितिमा बसेको बैठकमा यस सिमेन्ट सम्बन्धमा उठेको जवाफमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुख्य तीन विषयमा केन्द्रीत भएर बोर्डले अध्ययन गरिरहेको बताएका हुन्।
'हामीले यस कम्पनीको रेटिङ सम्बन्धमा उजुरी पाएका थियौं, सबै उजुरी सही हुन्छ भनेर पहिल्यै कदम चाल्ने अवस्था थिएन,' बोर्ड अध्यक्ष हमालले बताए, 'अहिले हामीलाई पनि यसमा शंका भएकोले नै तत्काललै आइपिओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएका हौं।'
हमालले रेटिङ कम्पनीले गरेको रेटिङ, सेयर प्रत्याभूतिकर्ताको भूमिका र सेयरमा परेको नक्कली आवेदन बारेमा अध्ययन गर्न लागिएको जानकारी गराए।
कम्पनीको सेयर बिक्री प्रबन्धकहरूमा हिमाल क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेका छन्। बिक्री प्रबन्धकले नै सेयर प्रत्याभूति गरेका हुन्छन्। सेयर प्रत्याभूतिकर्ताले बिक्री नभएको सेयर सकार्नु पर्छ।