एनआइसी एशिया बैंकले बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ।
बैंकले मोबाइल बैंकिङ एप (एनआइसी एशिया एमओ बैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको हो।
बैंकले भदौ १५ गतेदेखि कात्तिक १५ गतेसम्म लागु हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रूपमा रकम पठाउन सक्नेछन्।
सेल्फ हेल्प बैंकिङको अवधारणा अनुरुप बैंकको एपमार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहकहरूले आफ्नो परिवार, आफन्त वा साथीहरूलाई सहज रूपमा रकम पठाइ योजनाको भरपुर लाभ उठाउन सक्नेछन्।
यस योजना अन्तर्गत ग्राहकहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकको एपबाट रेमिट रकम सहज रूपमा पठाउन सक्ने बताइएको छ।
यसका लागि ग्राहकहरूले आफ्नो मोबाइलमा रहेको एनआइसी एशिया एमओ बैंकभित्र रहेको आइ रेमिट आइकनमा ट्याप गरेपछि पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रूपमा रेमिटेन्स पठाउन सक्नेछन्।
यसरी दैनिक अधिकतम २५ हजार रुपैयाँसम्म रकम पठाउन सकिने बैंकले बताएको छ।
यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजारभन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ।
डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहकहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिटेन्स पठाउनु पर्ने झन्झबाट मुक्ति मिल्नुका साथै समयको बचत गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ।
बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।