बिन्ध्यबासिनी हाइड्रोपावर विकास कम्पनीले लमजुङ र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीयको लागि आइपिओ निष्कासन गरेको छ।
कम्पनीले प्रतिसेयर एक सय रुपैयाँमा १० लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।
आवेदकहरूले आज, वैशाख ११ गतेदेखि वैशाख २५ गतेसम्ममा आइपिओ भर्न सक्नेछन्। सो अवधिमा मागबमोजिम आवेदन नपरे कम्पनीले जेठ ९ गतेसम्मको लागि आवेदन मिति बढाउने बताएको छ।
कम्पनीले लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिका वडा नं ८ र ९का बासिन्दाका लागि सात लाख कित्ता सेयर सुरक्षित गरेको छ। बाँकी तीन लाख कित्ता सेयर भने क्व्होलासोथार गाउँपालिका र मादी गाउँपालिकाका अन्य स्थानीयको लागि छुट्याइएको छ।
आइपिओ भर्न इच्छुक स्थानीयले थोरैमा १० कित्ता र धेरैमा एक लाख कित्तासम्मको आइपिओ भर्न सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ।