नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुणाकर भट्टले विदेशी मुद्रा सञ्चिति थप घट्न नदिन विलासिताका वस्तु आयातमा रोक लगाएको बताएका छन्।
प्रवक्ता भट्टले बिहीबार न्युज एजेन्सी नेपालसँग देशको शोधानान्तर घाटा बढिरहेको र उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति कमी हुँदै गएकाले त्यस्ता वस्तु आयातमा रोक लगाएको बताएका हुन्।
अर्थतन्त्रमा थप चुनौती आउन नदिन र बाह्य क्षेत्र व्यवस्थापन गर्न राष्ट्र बैंकले केही वस्तुको आयातमा रोक लगाउनुपरेको प्रवक्ता भट्टको स्पष्टोक्ति छ।
उनले अहिले सबैभन्दा ठूलो चुनौती विदेशी मुद्रा सञ्चिति व्यवस्थापन रहेकाले समयमा नै सर्तकता अपनाउन खोजेको बताए।
मुलुकको अर्थतन्त्र संकट देखिएर विलासिताका वस्तु आयातमा रोक नलगाएको भन्दै प्रवक्ता भट्टले संकटबाट जोगाउन एउटा टुल्स प्रयोग गरेको दाबी गरे।
उनले बाहिर हल्ला आएजस्तो अर्थतन्त्र आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए। राष्ट्र बैंकसँग ६.७ महिनाको लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति रहेको प्रवक्ता भट्टले जानकारी दिए।
उनले पछिल्लो समय अर्थतन्त्र सकारात्मक संकेतहरू देखापरेको बताए। कोरोना महामारीपछि मुलुकको आर्थिक क्रियाकलाप बढ्दै गएकाले वस्तुको माग बढ्दा आयातमा वृद्धि भएको बताए। त्यसो हुँदा विदेशी मुद्रा सञ्चिति र शोधानान्तरघाटा बढेको उनको भनाइ छ।
उनले भने, ‘अर्थतन्त्रको अहिलेको अवस्थालाई दुईवटा पक्षबाट हेर्नुपर्छ। कुनै पनि कुरालाई एकांकी रूपमा हेर्नुहुँदैन। एउटा पक्ष समष्टिगत आर्थिक स्थायित्वका आधारमा केही दबाब देखिएको छ।’
मुख्य रूपमा विदेशी विनिमय सञ्चितिमा कमी आएको शोधानान्तर स्थिति घाटा, आयात उच्चदरमा बढेको कारणले गर्दा बाह्य क्षेत्र व्यवस्थापनमा दबाब छ भन्ने देखिएको उनले उल्लेख गरे।
‘बाह्य क्षेत्र व्यवस्थापन हामीले गर्नै नसक्ने होइन। केही वस्तुको आयातलाई हामीले रोक्न सक्छौँ। सुनचाँदी, सवारीसाधन आयातलाई रोक्न सक्छौँ। साँच्चिकै त्यसमा ठूलो दबाब आउन थाल्यो भने त्यसका लागि राष्ट्र बैंकले प्रिकसन नोटहरू जारी गरेको हो,’ उनले भने, ‘विशेषगरी विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब आउन सक्छ र समयमा नै सम्हालिनुपर्छ भनेर राष्ट्र बैंकले भनेको हो। यसमा आत्तिहाल्नुपर्ने, अर्थतन्त्रमा संकट आयो भन्ने होइन।’
करिब साढे ६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने विनिमय विदेशी मुद्रा सञ्चिति जोगाएर राख्न सके आगामी दिन मुलुकमा ठूलो रूपमा अर्थतन्त्रमा अप्ठ्यारो नआउने उनले बताए।
‘यो कुरामा हामी सुनिश्चित भए हुन्छ। अहिले अर्थतन्त्रमा सकारात्मक पक्ष पनि आएको छ। त्यसमा आयात किन बढ्छ भन्दा आर्थिक गतिविधिहरू पनि बढिरहेका छन्। पर्यटकीय गतिविधिहरू पनि बढिरहेका छन्,’ उनले भने, ‘त्यसले वस्तु तथा सेवाको माग बढाउँछ। माग बढ्ने बित्तिकै आयात पनि बढ्छ। अर्थतन्त्रमा जुन गतिशीलता देखिन थालेको छ। त्यसलाई कसरी अगाडि बढाउने विदेशी मुद्रा सञ्चिति व्यवस्थापनमा दबाब देखिएको तथा रूस र युक्रेन युद्धका कारण त्यसबाट थप अर्थतन्त्रमा समस्या आउन सक्छ भनेर राष्ट्र बैंकले केही सतर्कता अपनाउनुपर्ने हो।’
त्यस्तै प्रवक्ता भट्टले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो अवस्थामा नपुग्ने बताए। उनले श्रीलंका र नेपालको अर्थतन्त्रमा आधारभूत अवस्था नै फरक रहेको स्पष्ट पारे।
श्रीलंका कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण भएकाले अहिलेको अवस्था आएको प्रवक्ता भट्टको भनाइ छ।
कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत विदेशी ऋण र कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत मात्रै विदेशी ऋण भएको मुलुकको श्रीलंका र नेपालबीच तुलना गर्न नमिल्ने दाबी उनको छ।
उनले श्रीलंकाले पछिल्लो समय आर्थिक व्यवस्थापन गर्न नसक्दा अहिले संकट भोग्नुपरेको बताए। श्रीलंका र नेपालको अर्थतन्त्रमा देखिएका चुनौती फरक भएको भन्दै प्रवक्ता भट्टले नेपालमा रूस र युक्रेन युद्ध र गत वर्ष उच्च रूपमा कर्जा विस्तारको कारण घरजग्गा, उत्पादन भन्दा आयात र सेयरबजारमा बढी लगानीको प्रभावले अहिले अर्थतन्त्रमा दबाब देखिएको बताए।
उनले भने, ‘श्रीलंका र नेपालको आधारभूत अवस्था नै फरक हो। श्रीलंका उच्च विदेशी ऋण भएको मूलुक हो। श्रीलंका सरकारको स्वामित्वका संस्थाहरूको ऋण समेत जोड्ने हो भने सरकारको दायित्व कुल गार्हस्थ उत्पादनको ११७ प्रतिशत हुन आउँछ। ११७ प्रतिशत ऋण भएको मुलुक र ४० प्रतिशत कुल गार्हस्थ उत्पादनको विदेशी ऋण भएको मुलुकको तुलना त्यहाँ हुन सक्दैन। श्रीलंका पछिल्लो समय आर्थिक व्यवस्थापनभन्दा बाहिर गएको थियो।’
करका दर घटाउने, करका दरहरूलाई खारेज गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूमा अनाश्वयक रूपमा उदारता देखाउने जस्ता काम श्रीलंकामा भएको उनले बताए।
‘हाम्रो त्योभन्दा अवस्था फरक हो। रूस र युक्रेन युद्धका कारण र केही कोरोना महामारीबाट अर्थतन्त्र माथि उठ्न खोेजेको कारण र गत वर्ष उच्च रूपमा कर्जा विस्तारको कारण घरजग्गा, उत्पादनभन्दा आयात र सेयरबजारमा बढी लगानी भएको प्रभावस्वरूप पनि अहिले अर्थतन्त्रमा दबाब देखिएको अवस्था हो,’ उनले भने, ‘अब विदेशीबाट आउने रेमिटेन्समा दबाब पर्दैन। वैदेशिक रोजगारीमा जाने मान्छेहरूको संख्या बढ्दै गएको छ।’
अन्य अन्तर्राष्ट्रिय मुलुकहरूको समेत अर्थतन्त्रमा सुधार आउन थालेको उनको भनाइ छ। तेलको माग अन्तर्राष्ट्रिय बजारमा बढे पनि रूस र युक्रेन युद्धका कारण आपूर्तिमा नै समस्या देखिएको बताउँदै उनले रेमिट्यान्समा तत्कालको लागि ठूलो चुनौती नदेखिएको बताए।
‘हामीले केही वस्तुहरूको आयात व्यवस्थित हुनैपर्छ किनकी अल्पकालको लागि मात्रै नभएर दीर्घकालको लागि सोच्नुपर्ने हुन्छ,’ उनले भने।
प्रवक्ता भट्टले पछिल्लो समय वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दै गएकाले रेमिटेन्समा सुधार आउन थालेको बताए। रेमिटेन्समा सुधार आउँदा मुलुकको विदेशी मुद्रा सञ्चिति बढ्ने भएकाले रेमिटेन्समा तत्कालको लागि ठूलो चुनौती देखिएको जिकिर गरे। अर्थतन्त्रमा संकट तथा थप चुनौती आउन नदिनको लागि सरकारले दीर्घकालीन अवस्थाको लागि सोच्नुपर्ने बताए।