नेपाल राष्ट्र बैंकले कात्तिक २५ गते बीस अर्ब रूपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले चौध दिन अवधिको रिपो जारी गर्ने सूचना मंगलबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।
योसँगै राष्ट्र बैंकले कात्तिक महिनामा तेस्रोपटक रिपो जारी गर्नेछ। यसअघि कात्तिक ४ गते दस अर्ब र ११ गते बीस अर्ब बराबरको रिपो जारी भइसकेको छ। अब बिहीबार जारी हुनेसँगै यो महिना राष्ट्र बैंकले ५० अर्ब बराबरको रिपो उपलब्ध गराउनेछ।
केही समयदेखि बैंकहरूमा पैसा अभाव हुँदै आएको छ। पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात (सिडी रेसियो) अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। तर केही बैंकले यो अनुपात कायम गर्न सकिरहेका छैनन्।
त्यसैले केही बैंकहरूले कात्तिक १ गतेदेखि बचतमा ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका थिए। तर बढाएको दुई दिन पनि नहुँदै राष्ट्र बैंकले बढेको ब्याज फिर्ता गराइदियो। ब्याजदर फिर्ता लिएर नयाँ ब्याजदर कायम गर्न निर्देशन पनि दिएको थियो। त्यसपछि अधिकांश बैंकले बचतमा ब्याजदर ९.३६ प्रतिशतसम्म दिएका छन्।
मंगलबार राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार बीस अर्बको रिपो आगामी मंसिर ९ गते परिपक्व हुनेछ।
यसका निम्ति बैंकहरूले बोलकबोलमार्फत् ब्याजदर निर्धारण गर्छन्। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन्। जुन बैंकले धेरै ब्याजदर दिन्छ रिपोको रकममा उसैले प्राथमिकता पाउँछ।
बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ। तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरण प्रयोग गर्छन्।